Prakash Adhikari July 29, 2026

काठमाडौँ, १३ साउनः नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रेष्ठका छोराले उहाँलाई दागबत्ती दिनुभएको थियो । नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुग्नुभएको थियो ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि कांग्रेसको पार्टी सानेपा काठमाडौँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । कांग्रेसको पार्टी कार्यालयमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू जानुभएको थियो ।

वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको निधन भएको थियो । स्व श्रेष्ठ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

स्व श्रेष्ठले यसअघि लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँले पटक–पटक गरी करिब छ वर्ष जेल जीवन बिताउनुभएको थियो । स्व श्रेष्ठ यसअघि विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

स्व श्रेष्ठ यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Share Now