Prakash Adhikari August 9, 2026

सानेपा(ललितपुर), २४ साउन। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । र्बैठक आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठक केही दिनसम्म जारी रहने छ । ‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौं । दुई–तीनदिन बैठक चल्छ’, सभापति थापाले भन्नुभएको छ, ‘बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छ ।’

संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म गर्ने तयारी इतर समूहका नेताहरूले गरिरहेका छन्।

तर, सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधानिकतामा पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको बताइएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो ।

परिवर्तित परिस्थितिमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीमा बृहत्तर एकताको लागि आह्वान गर्ने वा यस अगाडि इतर समूहबाट प्रस्ताव गरिएका शर्तहरुमा वार्ता गर्ने प्रस्ताव पारित गर्ने संभावना छ ।

विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा आएका नयाँ अनुहार भने पुरानो कार्यसमितिलाई मिसाउदा आफ्नो भाउ खस्किने भयले यसको विरोधमा रहने भय छ ।

 

Share Now