
काठमाडौं, २४ असोज । आन्तरिक उडानमा अग्रणी रहेको र बनारस तथा थिम्पुमा बाह्य उडान पनि थालेको नेपालको निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ।
निजी कम्पनीका रूपमा रहेर आन्तरिक र क्षेत्रीय उडान गरिरहेको एयरलाइन्सले अबको ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ। बुद्धले अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिक कम्पनीका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
घोषणा गरि सो अनुरुप तयारी गरिरहेको छ।
‘अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमा लैजान्छौँ, आन्तरिक उडान भने पब्लिकमा जाँदैनौं,’ उनले भने, ‘हामी ३० प्रतिशत मात्र सेयर राख्छौँ तर आन्तरिक उडान प्राइभेटबाटै गर्छौँ।’
नेपालमा हालसम्म कुनै पनि हवाई सेवा प्रदायक कम्पनी पव्लिकमा छैनन्।
रुट परमिट तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने उनले जानकारी दिए। क्षेत्रीय हुँदा लामो दुरीमा उडान गर्ने योजना बनाएको बुद्धले सन् २०२१ मा विमानस्थल सञ्चालन हुने र त्यही वर्षबाट जहाज उडाउने योजना बनाएको छ।
‘इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला। त्यसपछि हामी उडान सुरु गर्छौं। यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ,’ एटिआर जहाज चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बस्नेतले भने।
अबको १० वर्षभित्र २५ लाख पर्यटक पोखराबाट आउजाउ गराउन सकिने बुद्ध एयरको अध्ययनले देखाएको छ। त्यसरी आउने २५ लाख पर्यटकमा कम्तिमा ३० प्रतिशतलाई सेवा दिने गरी बुद्ध एयरले योजना बनाएको छ।
आन्तरिक उडानमा दुर्गम क्षेत्रमा नजाने घोषणा गरिसकेको एयरले अबको एकमात्र लक्ष्य अन्तर्राष्ट्रिय उडान भएको बताएको छ। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न सकिने बस्नेतको भनाइ छ।
‘हामीले पोखरालाई अर्जुनदृष्टि बनाएका छौं, सीमाका बाबजुद पनि,’ उनले भने।
२१ वर्ष पूरा गरेर २२ औं वर्षमा प्रवेश गरेको बुद्ध एयरले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ।
यही अवसरमा काठमाडौं आएका एटिआरका हेड अफ सर्भिस बिली ओहले बुद्ध एयरले यात्रुको सेवा र व्यवसायमा पाएको सफलता लोभलाग्दो भएको बताए।
यात्रुको सुरक्षा र सेवामा एयरलाइन्सले गरेको उत्कृष्ट प्रदर्शनबाट दक्षिण एसिया क्षेत्रमै एटिआरको राम्रो छाप रहेको उनको भनाइ छ।
६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० ‘डी’ जहाज रहेको एयरलाइन्सले आन्तरिक उडानमा एटिआर नै उडाउने भएको छ। नेपालको भौगोलिक अवस्थाअनुसार एटिआर उपयुक्त जहाज भएकाले परिवर्तनको पक्षमा नभएको बस्नेतले जानकारी दिए।
१० वर्षको अनुभवले बुद्ध एयर एटिआरबाटै नेपालमा हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सकिने निष्कर्षमा पुगेको उनको भनाइ छ।
भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंबाट भारतको वनारसमा नियमित उडान सुरु गरेको छ।
बुद्धले पोखराबाट भैरहवा र भरतपुर उडान सुरु गरिसकेको छ भने नेपालगन्ज पनि उडान गर्ने घोषणा गरिसकेको छ।