Prakash Adhikari August 21, 2026

काठमाडौं, ५ भाद्र । प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताड. जाने कार्यक्रम सार्वजनिक भएको छ । तर मुस्ताड.मा उहाँको के कार्यक्रम छ भन्ने कुरा गोप्य नै छ ।

मुस्ताड. भ्रमणमा निस्कनु अगाडि उहाँको फेसबुक वालमा एक स्टाटस् आएको छ । जसमा उहाँले लेख्नुभएको छ, “आजको मुस्ताङ भ्रमण केवल एउटा औपचारिक यात्रा होइन, राष्ट्रको विकास, पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको स्पष्ट प्रतिबद्धता हो। हिमाल, संस्कृति, प्रकृति र सथ्यताको अनुपम धरोहर मुस्ताङलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लाखौं आन्तरिक तथा बाह्य पर्यटक नेपाल भित्र्याउने हाम्रो लक्ष्य हुनेछ।”

उहाँले अगाडि लेख्नुभएको छ,”सडक, सञ्चार, स्वास्थ्य, सुरक्षित पर्यटन, वातावरण संरक्षण र स्थानीय पूर्वाधारमा लगानी बढाउँदै मुस्ताङका युवालाई आफ्नै गाउँमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने दिशा सरकारले दृढतापूर्वक अघि बढाउनेछ।”

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “पर्यटनबाट गाउँ समृद्ध, जिल्ला समृद्ध र राष्ट्र समृद्ध बनाउने अभियान हाम्रो साझा दायित्व हो। हामीलाई केवल सुन्दर नेपाल होइन, सक्षम, आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्नु छ। मुस्ताङको उन्नतिबाट नेपालको शान अझ उँचो बनाऔं। ”

प्रधानमन्त्रीका लागि पोखराको नजिकै रहेको माछापुच्छ्रे गाउँपालिकास्थित अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको जानकारीमा आएको छ । तर कास्की र मुस्ताड.का प्रहरी र प्रशासनले उहाँको आगमन र भ्रमण कार्यक्रमबारे अनविज्ञता प्रकट गरेका छन् ।

Share Now