Prakash Adhikari September 8, 2026

क्वालालम्पुर(मलेसिया), २३ भाद्र। मलेसियामा भइरहेको एसीसी मेन्स प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टोली हङकङसँग १५ रनले पराजित भएको छ।

यद्पि, यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल ४ खेलबाट ६ अंकसहित समूह ‘ए’को विजेता बनेको छ।

हङकङले पनि समान खेलबाट ६ अंक जोडे पनि नेट रनरेटमा पछि रह्यो। अब नेपालले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता ओमानसँग खेल्नेछ। हङकङले भने अर्को समूहको विजेता युएईसँग खेल्नेछ।

आजको खेलमा हङकङले दिएको २ सय ६२ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमा जोड्दा अलआउट भयो।

नेपालका इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १ सय ६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। तर‚ उनको उत्कृष्ट इनिङ्स नेपालको जितका लागि पर्याप्त भएन।

आसिफ शेखले ५० बलमा ४४ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २५‚ करण केसीले २१ रन बनाएर नेपाललाई लक्ष्यनजिक पुर्‍याउने प्रयास गरेका थिए। यता, गुलशनकुमार झाले २० रन बनाए।

नेपालको सुरुआत भने कमजोर रह्यो। अर्जुन कुमाल १४ रनमा आउट भए भने देव खनाल ६ रनमै पेभिलियन फर्किए। कप्तान रोहितकुमार पौडेलले ३ रन बनाए। सन्दीप लामिछाने २ रनमा रनआउट भए। शेर मल्ल ५ रनमा अविजित रहे।

नपाललाई रोक्ने क्रममा हङकङका ऐजाज खानले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५० रन खर्चिएर ४ विकेट लिए। यासिम मुर्तजाले ७ ओभरमा ३३ रन दिएर २ विकेट लिए। अतीकुल इकबाल, नस्रुल्ला र किन्चित देवाङ साहले समान १ विकेट राखे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।

हंगकंगका लागि बाबर हयातले १ सय १७ रनको अविजित शतकीय इनिङ्स खेलेका थिए। बाबरले आफ्नो इनिङ्सको १ सय २६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। उनको साथमा एहसान खान ४६ बलमा ३५ रन बनाएर अविजित रहे।

यी दुईबीच आठौं विकेटका लागि १ सय १५ बलमा १ सय २८ रनको अविजित साझेदारी भयो।

हङकङले सुरुआत भने अपेक्षाअनुसार गर्न सकेको थिएन। अनसुमान रथ १३ र जिशान अली १५ रनमा आउट भए। कल्हान चाल्लु ९, किन्चित देवाङ शाह शून्य, यासिम मुर्तजा ५ र ऐजाज खान ९ रनमा पेभिलियन फर्किए। शाहिद वासिफले ४९ बलमा ४५ रन बनाए।

हंगकंगलाई रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चिए। शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए।

Share Now