काठमाडौं, २३ भाद्र। मधेश वारियर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) मा पहिलो जित निकालेको छ ।
लगातार ३ खेलमा पराजय भोगेको मधेशले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा रविन नगरकोटी मार्की खेलाडी रहेको मधेशले धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तड फाल्कन्सलाई ३- ० को सोझो सेटमा पराजित गर्र्यो ।
मधेश २५-२१, २५-२० र २५-२३ ले विजयी भयो । मेधशका जिविन सेबास्टियन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३-१, दोश्रोमा काठमाडौं रेड्ससंग ३-२ र अन्नपूर्ण स्पाइकर किङ्ससंग ३-१ ले पराजित भएको थियो ।
खप्तडको यो लगातार तेस्रो हार हो । खप्तड यसअघि सगरमाथा र कर्णाली शिवराजसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। खप्तडको प्ले अफ पुग्न सम्भावना कमजोर भएको छ ।
आज साँझ ७ः०० बजे काठमाडौं रेड्स र सगरमाथाबीच प्रतिस्पर्धा हुनेछ ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन, नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ टोली सहभागी छन् ।
सिंगल राउन्ड रोविन लिगपछि शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छ । दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
एनभिएलको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।
पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमा पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।








