Prakash Adhikari September 9, 2026

काठमाडौं, २४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभर साधारणतया बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगमा बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै मधेस, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ भने हिमाली क्षेत्रमा हिमपात हुनसक्नेछ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा, चट्याङ र हिमपातको जोखिम रहेका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

Share Now