काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।
मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।”
हिजो संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास आपूर्तिमा निजी क्षेत्रका ग्यास उद्योगले सहयोग नगरेको हुनाले उनीहरुलाई पाता फर्काएर कारबाही गर्नुपर्ने बताउनुभएको थियो । जबकी उद्योगहरुले चितवन, नवलपरासी, हेटौडा,बीरगञ्जका उद्योगहरुमा ग्यास पुनर्भरणको व्यवस्था मिलाएर संकटमा ग्यास आपूर्तिमा सरकारलाई सघाईरहेका छन् ।
मन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उहाँलाई सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । इन्जिनियर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुनुहुन्छ ।
—
—