Prakash Adhikari September 15, 2026

काठमाडौँ, ३० भदौः भोटेकोशी बाढीमा परी हालसम्म ५ हजार १ सय ३० जना अझै सम्पर्कविहीन, हालसम्म १ हजार ३ सय ९५ जनाको शव प्राप्त भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय २, रसुवामा १ सय ८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७ सय ३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४ सय  ९९, रसुवामा ८ सय २५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३ सय ४१ जनाको उपचार गरिएकामा २ सय ७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३ सय ५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १ सय ६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २ सय ३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।
–––

Share Now