Prakash Adhikari September 15, 2026

म्याडलिन हालपर्ट र मार्क पोन्टिङ जलवायु संवाददाता  

लयडन(संयुक्त अधिराज्य), ३० भाद्र (बीबीसी न्यूज)। संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षणसम्बन्धी निकाय इन्भारोमेन्टल प्रोटेक्शन एजेन्सी(ईपीए)का प्रमुखले कोइला र ग्यास ऊर्जा केन्द्रबाट हुने प्रदूषण सीमित गर्ने उद्देश्यले बनाइएका नियमहरू हटाइँदै गरिएको घोषणा गर्नुभएको छ ।

उक्त निकायले यसले भविष्यका प्रशासनहरूलाई ऊर्जा केन्द्रबाट हुने उत्सर्जनलाई नियमन गर्नबाट रोक्न आवश्यक कदम चाल्ने पनि जनाएको छ।

ईपीएले राष्ट्रपति जो बाइडनको कार्यकालमा लागु गरिएका अधिकांश जलवायु नियमहरू हटाउँदा ३ खर्ब १० अर्ब डलर बचत हुने र ऊर्जाको मूल्य घट्ने जनाएको छ।

तर वातावरणीय समूहहरूले यस्तो कदमले अमेरिकी नागरिकहरूको स्वास्थ्य र पृथ्वीमा ठूलो नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। ईपीएको यो कदमले तत्कालै कानुनी चुनौतीको सामना गर्ने ठानिएको छ।

ईपीएका प्रमुख ली जेल्डीनले भन्नुभयो, “वास्तविकता के हो भने अमेरिकाले विश्वका अन्य कुनै पनि देशभन्दा राम्रो र स्वच्छ रूपमा ऊर्जा उत्पादन गर्छ र हाम्रा विद्युत् गृहहरूलाई अनुचित रूपमा निशाना बनाइनु हुँदैन।”

संयुक्त राष्ट्रसङ्घका अनुसार कोइला र प्राकृतिक ग्यासलगायत जीवाश्म इन्धनहरू विश्वव्यापी जलवायु परिवर्तनका सबैभन्दा ठूला कारण हुन्।

ईपीएले एउटा विज्ञप्तिमा बाइडेन प्रशासनको समयमा विद्युत् गृहबाट हुने उत्सर्जनसम्बन्धी बनाइएका नियमहरूले एजेन्सीको अधिकारको सीमा नाघेको पाइएको जनाएको छ।

ईपीएले यी नियमहरूले पर्याप्त रूपमा प्रमाणित नभएका प्रदूषण नियन्त्रण प्रविधिहरू अनिवार्य गरेको र वास्तवमा पूरा गर्न सकिने मापदण्ड तोक्नुको सट्टा विद्युत् गृहहरूलाई बन्द गर्न बाध्य बनाएको जनाएको छ।

ईपीएले ऊर्जा क्षेत्रमा लागु हुने अन्य सबै हरितगृह ग्याससम्बन्धी नियमहरू पनि हटाउन खोजिरहेको छ।

सार्वजनिक रूपमा समीक्षा गरिने यी परिवर्तनहरू जेल्डिनले गत वर्ष प्रस्ताव गर्नुभएको थियो ।

उहाँले नयाँ नियमहरूले ूसस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्ने तथा यातायात, घर तताउने, उपयोगिता सेवा, कृषि र उत्पादन उद्योगको लागत घटाउनेसँगै राष्ट्रिय सुरक्षालाई बलियो बनाउनेू बताएका छन्।

बाइडन प्रशासनको समयमा लागु गरिएका नियमहरूले विद्युत् गृहका साथै सवारीसाधन र औद्योगिक प्रतिष्ठानहरूबाट हुने कार्बन उत्सर्जनमा ठूलो कटौती गर्न आह्वान गरेका थिए। यी उपायहरू अपनाउँदा हरेक वर्ष ४५ सय मानिसहरूको अकालमै हुने मृत्युलाई रोक्ने अनुमान गरिएको थियो।

तर ईपीएले सोमवार भन्यो, “जनस्वास्थ्यमा पर्नसक्ने कुनै पनि सम्भावित हानि यति अनिश्चित, अनुमानमा आधारित, अप्रत्यक्ष र जटिल छ कि त्यसलाई विशेष रूपमा अमेरिकी ऊर्जासँग जोड्न सकिँदैन।”

जेल्डिनले पत्रकारहरूलाई मानव स्वास्थ्यको सुरक्षा गर्न हानिकारक वायु प्रदूषकहरू विरुद्धका सुरक्षात्मक व्यवस्थाहरू भने यथावत् रहने बताउनुभयो।

अहिले चीनपछि पृथ्वीलाई तातो बनाउने कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वको दोस्रो ठूलो देश अमेरिका हो।

उपलब्ध पछिल्लो अनुमान अनुसार अमेरिकाको कुल उत्सर्जनको करिब १ चौथाइ हिस्सा ऊर्जा क्षेत्रबाट आउँछ जुन प्रत्येक वर्ष लगभग १.५ अर्ब टन कार्बन डाइअक्साइड बराबर हुन्छ।

यसको अर्थ अमेरिकाको ऊर्जा क्षेत्रबाट हुने उत्सर्जन केही सीमित देशहरूबाहेक अन्य सबै देशको कुल उत्सर्जनभन्दा पनि बढी हो।

Share Now