Prakash Adhikari September 17, 2026

 

स्ट्रासबर्ग (फ्रान्स)। युरोपेली संघ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई संघको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गर्नुभएको छ। उहाँले क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्‍याउन चाहेको जानकारी दिनुभयो।

प्रस्तावित साझेदारी विद्यमान व्यापक आर्थिक तथा व्यापार सम्झौता (सीइटीए) मा आधारित हुने तथा रक्षा उत्पादन, प्रविधि, आर्कटिक, ऊर्जा, महत्त्वपूर्ण खनिज, कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, साइबर सुरक्षा र आर्थिक सुरक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गरिने भोन डेर लेयनले बताउनुभयो। “यो साझेदारी कसैको विरुद्धमा होइन, हाम्रो साझा शक्तिका लागि हो,” उहााले भन्नुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इयुको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै क्यानाडालाई एसोसिएट सदस्य बनाउने प्रयास ‘शत्रुतापूर्ण कदम’ हुनसक्ने चेतावनी दिनुभयो। उहाँले त्यसको प्रतिक्रियामा युरोपेली सामानमा थप भारी शुल्क लगाउन सकिने चेतावनी दिनुभएको हो ।

ट्रम्पका शुल्क नीति तथा क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा उहाँले व्यक्त गर्दै आएको धारणाले दुई उत्तर अमेरिकी मुलुकबीचको सम्बन्धमा तनाव बढाएको छ।

क्यानाडाले अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेको छ भने प्रधानमन्त्री कार्नीले इयुसँग थप निकट सम्बन्ध निर्माणमा जोड दिँदै आएको जानकारी दिनुभएको छ।

इयुसँगको सम्बन्ध विस्तारलाई क्यानाडाले आफ्नो सार्वभौमसत्ता बलियो बनाउने माध्यमका रूपमा हेरेको छ। इयुका लागि क्यानाडाका नियुक्त राजदूत जोनाथन विल्किन्सनले क्यानाडाले पूर्ण सदस्यता नखोजी आफ्नो सार्वभौमसत्ता कायम राख्दै इयुसँग सकेसम्म निकट सम्बन्ध बनाउन चाहेको बताउनुभएको छ ।

क्यानाडा र इयुबीच प्रस्तावित एसोसिएट सदस्यताको स्वरूप, अधिकार तथा दायित्व भने अझै निश्चित भइनसकेको अधिकारीहरूले बताएका छन्।

अक्टोबरमा हुने क्यानाडा(इयु शिखर सम्मेलनमा यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ। एसोसिएट सदस्यताको अवधारणा यसअघि युक्रेन र ब्रेक्जिटपछि बेलायतका सन्दर्भमा पनि उठे पनि अहिलेसम्म कुनै देशले यस्तो हैसियत पाएको छैन।

क्यानाडा यसै वर्ष इयुको करिब एक खर्ब ५० अर्ब युरोको रक्षा कार्यक्रम ‘सेफ’ मा सहभागी हुने पहिलो गैरइयु देश बनेको छ। यसले रक्षा उद्योग तथा संयुक्त खरिदमा दुई पक्षबीच सहकार्य विस्तारको आधारसमेत तयार गरेको छ।

प्रधानमन्त्री कार्नीले आर्थिक एकीकरणलाई केही देशले आफ्नो हितमा प्रयोग गर्न सक्ने अवस्था रहेकाले मध्यम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपटि ट्रम्पले बुधबार अमेरिकी सरकारको सङ्घीय खरिद प्रणालीमा क्यानाडाली सामानको प्रयोग सीमित गर्न निर्देशन दिनुभएको छ।

प्रस्तावित नयाँ सम्बन्धले व्यापार र रक्षासँगै प्रविधि, ऊर्जा तथा महत्त्वपूर्ण खनिजजस्ता क्षेत्रमा क्यानाडा र इयुबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको विश्लेषकहरूले बताएका छन्।

Share Now