काठमाडौं, ३ असोज । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आज (शनिबार) थप ११ वटा शव फेला परेका छन्। आयोजनाको सुरुङ (टनेल) क्षेत्रमा ग्याबिन जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला परेका हुन्।
नेपाली सेनाको टोलीले उद्धार गरी ती सबै शवहरू बाहिर निकालेको जानकारी दिएको छ।
गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका कतिपय श्रमिक तथा कर्मचारीहरू सम्पर्कविहीन भएका थिए। बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा सुरुङभित्र हिलो र जालीमा पुरिएका शवहरू भेटिएका हुन्।
शव फेला परेको उक्त टनेल क्षेत्रमा अझै पनि खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।








