काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनौठो सुझाव दिनुभएको छ । उहाँले आजदेखि सुरु भएको नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई खुल्लामञ्चबाट शुभकामना दिने क्रममा सो सुझाव दिनुभएको हो ।
लामिछानेले नेपाली कांग्रेसका सभापति थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाव दिनुभएको हो।
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भन्नुभयो ।
उहाँले यसलाई आफूले लगाएको दोस्रो ‘गुन’ को रुपमा बुझ्न आग्रह गर्नुभयो ।
‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु । मान्नेरनमान्ने तपाईंको जिम्मा,’ रास्वपा सभापति लामिछानले भन्नुभयो ।
रविले गगन थापालाई पहिलो के गुन लगाएको हो त्यो खुलाउनुभएन । साथै फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ भनेर कसलाई भन्न खोजेका हुन् तिनको नाम पनि उहाँले लिनुभएन ।
तर १४ औं महाधिवेशनबाट निर्वाचिन शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायतका केही नेताहरू १५ औं महाधिवेशनमा सहभागी छैनन् ।
सरकार पूरै समय चल्ने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार खुल्लामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूले अहिले सरकार ढल्छ,ढल्छ भन्ने सुन्न थालेको भन्दै उहाँले सरकार नढल्ने बरु सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेपछि आफै ढल्न थालेको बताउनुभयो ।
‘सरकार अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ कि भनेको सुन्छु’, लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ । सरकार विल्कुल ढल्दैन । पाँचै वर्ष चल्छ ।’
उहाँले इतिहासलाई साक्षी राखेर सरकार गठन गरेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने कुरामा चिन्ता नगर्न पनि आग्रह गर्नुभयो ।
मिलेरै अघि बढ्ने भन्दै उहाँले पहिचान र अधिकारका मुद्दा स्थापित गर्ने बताउनुभयो । उहाँले आन्दोलनबाट सरकार ढाल्नेतिर नलाग्न दलहरूलाई आग्रह गर्दै भन्नुभयो, ‘लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट मात्र बलियो बनाउन सकिन्छ ।’
व्यक्ति होइन, सिस्टम जोगाउनुहोस्
रास्वपाका सभापति रवि लामिछानेले व्यक्तिलाई बचाउन वा फसाउन लोकतन्त्रको दुरुपयोग गर्न नहुने बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन आइतबार खुलामञ्चमा सम्बोधन गर्दै उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिनुभयो।
सभापति लामिछानेले नेपाली कांग्रेसलाई कम्तिमा आगामी साढे चार वर्षसम्म धैर्य गर्न आग्रहसमेत गर्नुभयो। त्यस्तै, पार्टीका कार्यक्रमहरूमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भइरहेका टीकाटिप्पणीबारे स्पष्ट पार्दै उहाँले यस विषयलाई अतिरञ्जित ढङ्गले नहेर्न आग्रह गर्नुभयो।
‘पार्टीको काममा प्रधानमन्त्री सहभागी नभएको विषयलाई अतिरञ्जित ढङ्गले नहेरिदिनुहोला’, लामिछानेले भन्नुभयो, ‘हामीले पार्टी र सरकारको विषयमा काम बाँडफाँड गरेका छौँ। पार्टीको काम मैले गर्छु, सरकारको काम प्रधानमन्त्रीले गर्नुहुन्छ।
वर्तमानको आवाज सुन्न आग्रह
रास्वपाका सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्ना नीति र कार्यशैलीमा सुधार गर्नुपर्नेमा सुझाव दिनुभएको हो ।
उहाँले कांग्रेसकै मञ्चमा गएर भन्नुभयो, “कांग्रेसको इतिहास गर्विलो छ । यो तपाइँहरुको पूँजी होला तर कमजोरी पनि तपाइँहरुको इतिहास नै हो । जनता वर्तमान समस्याको खोजी गरिरहेका छन् , इतिहासको बखान हैन ।”
‘कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,’ लामिछानेले भन्नुभयो, ‘दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला। यति लहलहाउँदो रुखलाई छाडेर अरूलाई भोट हाल्न बाध्य नबनाएको भए म पनि कांग्रेस हुन्थेँ होला।’
मञ्चमा आफू मात्र प्रतिपक्षीको रूपमा उभिन पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो मञ्चको प्रतिपक्ष म मात्र भएछु, मलाई एक्लो हुन मन पर्छ। तर मुलुक र लोकतन्त्रका लागि पार्टीहरू एक्लो हुँदैनन्।’
वर्तमान सरकारको स्थायित्व र सरकार फेरबदलको चर्चाबारे टिप्पणी गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाउनेहरू नै बेहोस भएर ढल्ने बताउनुभयो ।
‘सरकार ढल्छ, अहिले ढल्छ, दसैँ–तिहारपछि सरकार ढल्छ भन्नेहरू सरकार नढलेको देखेर बेहोस भएर ढल्छन्,’ उहाँले भन्नुभयो।
साथै, लोकतन्त्रलाई कुनै पनि खतरा नरहेको दाबी गर्दै उनले लोकतन्त्रको नाममा धेरै दुहाइ नदिन आग्रह गर्नुभयो। लोकतन्त्र जनताले जोगाउने बताउँदै उहाँले सरकार ढाल्ने अचुक उपायबारे भन्नुभयो, ‘सरकार आन्दोलनबाट ढल्दैन, अब चुनावबाट मात्र सरकार फेर्ने काम गरौँ।








