Prakash Adhikari October 25, 2026

काठमाडौं, ८ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको सबै तयारी पूरा भएको छ । भोलि कार्तिक ९ गतेदेखि सुरु हुने नेपालको यस प्रतिष्ठित खेलको विजेता टिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल प्रिमियर लिगको तयारी र विजेता टिमले प्राप्त गर्ने पुरस्कार राशिबारे औपचारिक जानकारी गराएको हो।

क्यानले घोषणा गरे अनुसार एनपीएलको तेस्रो संस्करणमा उपविजेता बन्ने टोलीले ८० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। त्यसैगरी, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

यसअघि आयोजित एनपीएलको दोस्रो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने उपविजेताले ५१ लाख रुपैयाँ मात्र पाएका थिए।

त्यस्तै, गत संस्करणमा तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका थिए। यसपटक क्यानले पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्दै प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धी बनाएको छ।

पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको जानकारी दिनुभयो।

“यस सिजन प्रायोजन (स्पोन्सरसिप)बाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ)बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ । एक महिनासम्म चल्ने प्रतियोगिता अवधिभर एनपीएलको कुल (ग्रोस) आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ”, खड्काले भन्नुभयो, “यसैको परिणामस्वरूप पुरस्कार राशिमा पनि वृद्धि गरिएको हो ।”

एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ । जसमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, गण्डकी एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

प्रतितियोगितामा विभिन्न टिममा आबद्ध विदेशी खेलाडी नेपाल आएर अभ्यास खेलमा सरिक भएका छन् ।

Share Now