Prakash Adhikari October 26, 2026

काठमाडौं, ९ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि मैदान व्यवस्थापन, प्राविधिक तयारी तथा सुरक्षा प्रबन्ध लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने उद्घाटन खेलमा आज साँझ ५ः०० बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

एनपीएलमा विगतमा झै विभिन्न आठ टिमको सहभागिता रहेको छ । यस पटक चर्चित विदेशी खेलाडी भित्र्याएर विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दै छन् ।

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स हालसम्म ३ पटक आमनेसामने भइसकेका छन्। जसमध्ये सुदूरपश्चिमले २ खेलमा जित निकालेको छ भने लुम्बिनीले १ खेल मात्र जितेको छ।

अघिल्लो सिजनको फाइनल भिडन्तमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको थियो। तर त्यसअघि लिग चरणका खेलहरूमा भने सुदूरपश्चिम हाबी भएको थियो। अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो भने त्यसअघिको पहिलो सिजनको लिग चरणमा पनि सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो।

पछिल्ला खेलको प्रदर्शन

लुम्बिनी लायन्स पछिल्ला ५ खेलमा अपराजित रहँदै उत्कृष्ट लयमा छ। अघिल्लो सिजनको उपाधि यात्राका क्रममा लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रन, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेट, लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेट र त्यसअघि विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिम रोयल्सले आफ्ना पछिल्ला ५ मध्ये ३ खेलमा जित र २ खेलमा पराजय भोगेको छ। फाइनलअघि पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराएको सुदूरपश्चिम लिग चरणमा भने विराटनगरसँग ६ विकेटले पराजित भएको थियो। त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रन र जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालको टी २० राष्ट्रिय टिमका कप्तान रहेका दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्वदेशी तथा विदेशी स्टार खेलाडीहरूको बलियो उपस्थिति छ। टोलीमा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेन जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।

यस्तै नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान रोहित पौडेलको कप्तानी रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पल म्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान स्कलविक, निरोशन डिक्वेला, दिनेश अधिकारी, अभिषेक गौतम, तिलक राज भण्डारी, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्ती मगर लगायतका खेलाडीहरू रहेका छन्।

उद्घाटन खेल आज साँझ ५ः०० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । अन्य खेलहरु पनि सोही मैदानमा हुनेछन् ।

Share Now