Prakash Adhikari November 2, 2026

 

काठमाडौं, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा साझा धारणा बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ।

त्यस्तै, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने र सरकारका गतिविधिमाथि प्रतिपक्षी दलहरूले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

सरकारको कार्यशैली र प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा निर्माण गर्दै सरकारलाई जवाफदेही बनाउन बैठक केन्द्रित हुने कांग्रेसले जनाएको छ।

Share Now