Prakash Adhikari November 5, 2026

कीर्तिपुर(काठमाडौं), १९ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्।

दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्ने छन् भने साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स्।

दिउँसो हुने पहिलो खेलमा अपराजित लुम्बिनी लायन्स चौथो जितको खोजीमा मैदान उत्रनेछ। हालसम्म तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलमा अङ्क बाँड्दै पाँच अंक हासिल गर्दै अंक तालिकाको शीर्षमा पुगेको छ ।

यता जनकपुर बोल्ट्सले चार खेलमा दुईमा जित र दुईमा हारको परिणामसहित चार अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको छ। समान चार अंक भए पनि रनरेटका आधारमा कर्णाली र विराटनगर अगाडि रहेका छन्।

आज तेस्रो जितको खोजीमा रहेको जनकपुर आफ्नो पाँचौं खेल खेल्दैछ।

यसअघि भएका भेटहरूमा हेड टु हेड १(१ को बराबरीको नतिजा रहेकाले आजको पहिलो खेल थप रोचक हुने अनुमान गरिएको छ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्ने छन्। जारी प्रतियोगितामा दुई खेल खेल्दै एक जित र एक हार निकालेको काठमाडौँ दुई अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ र आजको खेल जित्नैपर्ने दबाबमा छ।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलमा दुई जितसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। विराटनगर आज आफ्नो पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। एनपीएलमा यसअघि भएको हेड टु हेड भेटमा विराटनगरले काठमाडौँलाई पराजित गरेको थियो ।

Share Now