Prakash Adhikari November 5, 2026
ढाका, १९ कात्तिक (रासस/एएनआई): बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
बङ्गलादेशको इन्भेस्ट बङ्गलादेश र चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच भएको समझदारीपत्रमा इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर समारोहमा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि उपस्थित हुनुहुन्थ्यो ।
समझदारीअनुसार बङ्गलादेशमा पूर्वाधार, यातायात, रसद, उद्योग, ऊर्जा, वातावरण र सीप विकासलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहकार्यका अवसर विस्तार गरिनेछ । हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप चिनियाँ लगानी भित्र्याउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना सुनाउँदै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न पर्याप्त विद्युत् र ग्यास आपूर्ति सुनिश्चित गर्ने पूर्वाधार तीव्र गतिमा निर्माण गरिने बताउनुभयो । उहाँले बङ्गलादेशको आर्थिक आधार बलियो बनाउन योगदान पु¥याउने चिनियाँ लगानीकर्तालाई धन्यवाद दिँदै मध्यपूर्वमा चिनियाँ कम्पनीमार्फत बङ्गलादेशी कामदारले रोजगारी पाएकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति विशेष आभार व्यक्त गर्नुभयो ।
यस दिनलाई महत्त्वपूर्ण र खुसीको अवसर बताउँदै उहाँले दुवै देशले सहकार्यबाट आर्थिक विकासका लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि प्रधानमन्त्री रहमान बिहीबार बिहान ९ः५० बजे हेलिकप्टरबाट मोङ्गला पुग्नुभएको थियो । उहाँको भ्रमणका क्रममा मोङ्गला बन्दरगाह विस्तार तथा आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा कन्टेनर जेटी निर्माण र सम्बन्धित पूर्वाधार विकास कार्यको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको थियो ।
Share Now