कीर्तिपुर(काठमाडौं), २१ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच खेल हुने भएको छ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुनेछ ।
आजको खेलमा लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा तथा काठमाडौँ गोर्खाज करण केसीको नेतृत्वमा मैदानमा उत्रनेछ।
चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफको सम्भावना थप बलियो बनाउने योजनामा छ। अर्कोतर्फ, ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको काठमाडौँ पनि लुम्बिनीलाई पराजित गरेर तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यमा छ।
एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स्, काठमाडौं गोर्खाज्, चितवन राइनोज् , गण्डकी एभेञ्जर्स, लुम्बिनी लायन्स्,कर्णाली याक्स् र सुदूरपश्चिम रोयल्स् टोलीको सहभागिता रहेको छ।







