Prakash Adhikari November 14, 2026

लण्डन(संयुक्त अधिराज्य), २७ कार्तिक(बीबीसी) । बिहीवार बेलुकीबाट अवरुद्ध भएका माइक्रोसफ्टका सेवाहरू सञ्चालनमा ल्याउने प्रयासमा प्रगति देखिएको कम्पनीले जनाएको छ।

विश्वकै ठूलामध्येको प्रविधि कम्पनी माइक्रोसफ्टका इमेलसहित कैयौँ सेवाहरू नचल्दा कैयौँ व्यवसायहरू प्रभावित भएका थिए।

माइक्रोसफ्टले उत्तर अमेरिकामा धेरै हदसम्म सेवा चालु गरिएको र युरोपसहितका प्रभावित क्षेत्रमा पनि आफ्ना सेवाहरूमा प्रगति देखिएको बताएको छ।

यद्यपि अझै कतिपय प्रयोगकर्ताकोमा इमेल समयमै नपुग्ने लगायतका समस्या बाँकी रहेको कम्पनीले जनाएको छ।

‘कनेक्टिभिटी’ सम्बन्धी समस्याका कारण माइक्रोसफ्टका ‘३६५’ सेवा, टीम्स, आउटलूक र यसको एआई च्याटबट कोपाइलट प्रभावित भएका छन्।

यसका फरकफरक प्रयोगकर्ताहरूले केही हदसम्म सेवा चलेको बताए पनि धेरैले इमेल पठाउन र पाउन नसकेको, क्लाउडमा रहेका फाइलहरू खोल्न नसकेको र क्यालेन्डर एपमा राखिएका विवरणहरू हेर्न नसकेको बताएका छन्।

केहीले टीम्स सामान्य अवस्था जसरी नै चलिरहेको बताएका छन्।

कुन स्तरको असर

यस्ता सेवामा आएको अवरोध निगरानी गर्ने वेबसाइट ुडाउन डिटेक्टरुका अनुसार बिहीवार साँझ ७४ देशका १ लाख ४० हजार प्रयोगकर्ताहरू प्रभावित भएका थिए।

माइक्रोसफ्टको वेबसाइटका अनुसार विश्वभरि ४३ करोड मानिसहरूले माइक्रोसफ्ट ३६५ एपहरू प्रयोग गर्छन्।

विश्वभरि कैयौँ कम्पनीहरूले पनि यसको सेवा प्रयोग गर्ने भएका कारण यसको प्रभाव अन्य सेवाहरूमा समेत पर्ने ठानिएको छ।

माइक्रोसफ्टको सेवा अवरुद्ध भएका कारण आफ्नो सेवामा समेत समस्या आएको प्रविधि कम्पनी ओपन एआई र एन्थ्रोपिकले जनाएका छन्। परिणामस्वरूप ओपन एआईका केही ुटूलुहरूले राम्रोसँग काम गरेका छैनन्।

च्याटजीपीटीको निर्माता ओपन एआईले माइक्रोसफ्टका सेवाहरूसँग आफ्नो कनेक्शनमा आएको समस्याबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सिङ्गापुर सरकार र अस्ट्रेलियाको जासुसी निकायसहितका केही सरकारी निकायहरूले पनि आफ्नो काममा असर परेको जनाएका छन्।

समस्या के हो?

माइक्रोसफ्टले साइबर आक्रमण नभएको स्पष्ट गर्दै आफ्ना पूर्वाधारमा बढेको चापका कारण अहिलेको समस्या आएको बताएको छ।

यसको अर्थ उसका सर्भरहरूमा सामान्य अवस्थाभन्दा धेरै ठूलो चाप परेको हुन सक्छ।

माइक्रोसफ्टका कैयौँ सर्भरहरू एकै पटक चल्न छोडेका कारण बाँकी भएका सर्भरमा प्रयोगकर्ताहरूको चाप बढ्दा ठूलो स्तरको समस्या आएको माइक्रोसफ्टले जनाएको छ।

समस्या समाधानमा निकै कम मात्रै सफलता हात लागेको माइक्रोसफ्टले शुक्रवार जनाएको छ।

विज्ञहरूले के भने ?

अस्ट्रेलियाका साइबर सुरक्षा विज्ञ ट्रोए हन्टले अहिलेको अवरोधको परिणाम व्यापक हुन सक्ने बीबीसीसँग बताउनुभएको छ।

उहाँले माइक्रोसफ्ट इन्टरनेटको ठूलो मेरुदण्ड रहेको र यो घटनाले हाम्रा इमेलहरू अहिले पनि कति संवेदनशील छन् भन्ने देखाएको बताउनुभयो।

न्यूजील्यान्डको प्रविधि परामर्श कम्पनी गरिला टेक्नोलजीका पल स्पेनले इमेल र अन्य सेवाहरू नचल्दा कम्पनीहरूले आफ्नो व्यापार गुमाएको बताउनुभयो। यस्तो घटनाले प्रयोगकर्तालाई बेखुस बनाएको उहाँ बताउँनुहुन्छ।

Share Now