Prakash Adhikari November 14, 2026

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २८ कार्तिक। अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या देखिएपछि शुक्रबार लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइएको छ। उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए।

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान भइसकेको र देशको हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। यद्यपि, उडान सेवा तत्कालै पूर्ण रूपमा सामान्य अवस्थामा नफर्कने र क्रमशः नियमित बनाउँदै लगिने उहाँले बताउनुभयो ।

उडान रोकिनुको कारण

यातायात सचिव डफीका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा अमेरिकाका विभिन्न एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा टर्मिनल राडार एप्रोच कन्ट्रोल (ट्र्याकन) प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो।

प्राविधिक समस्याका कारण विमानको राडारसम्बन्धी विवरण प्राप्त गर्न र उडिरहेका विमानसँग सञ्चार सम्पर्क कायम राख्न कठिनाइ भएको थियो। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले सावधानीस्वरूप देशभरका विमानलाई उडान गर्न रोक लगाउने अर्थात् ‘ग्राउन्ड स्टप’ लागू गरेका थिए।

उक्त प्रतिबन्ध लगाइँदा अमेरिकाको आकाशमा ३ हजार ५ सय भन्दाबढी विमान उडिरहेका थिए। ती सबै विमानले हवाई ट्राफिक नियन्त्रण केन्द्रको निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए।

साइबर आक्रमण वा एआई होइन

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या साइबर आक्रमणका कारण नभएको स्पष्ट पारेका छन्।

उनका अनुसार उक्त घटना माइक्रोसफ्टको प्रणालीमा आएको अवरोधसँग पनि सम्बन्धित थिएन। प्रारम्भिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) का कारण समस्या उत्पन्न भएको कुनै संकेत फेला नपरेको उनले बताएका छन्।

पुरानो हार्डवेयरका कारण प्राविधिक खराबी

यातायात सचिव डफीका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग हुँदै आएको पुरानो हार्डवेयरमा खराबी देखिएपछि उडान सेवा प्रभावित भएको हो।

उहाँले हवाई ट्राफिक नियन्त्रण प्रणालीलाई आधुनिक बनाउन नयाँ प्रविधि जडान तथा स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि अमेरिकी संसद्सँग माग गर्दै आएको पनि बताउनुभयो।

सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा हवाई सेवा रोकिएको यो दोस्रो घटना हो।

यसअघि सन् २०२३ जनवरीमा अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को मुख्य कम्प्युटर प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान प्रभावित भएका थिए। उक्त घटनाले पनि अमेरिकी हवाई यातायात व्यवस्थापन प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो।

Share Now