कीर्तिपुर(काठमाडौं), २८ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
एनपीएलको आजको खेलमा एकदिवसीय राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र पूर्व कप्तान रोहित पौडेल नेतृत्वका टिमको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
रोहितको कप्तानी रहेको लुम्बिनी लायन्स सबैभन्दा पहिले प्लेअफ पुग्ने टिम हो भने सन्दीपको विराटनगर किंग्स् आजको खेल जितेमा मात्र प्लेअफ पुग्न सक्छ । हालसम्मका टिमका ६ । ६ खेलमा लुम्बिनीले ४ खेलमा जित, एकमा हार र एक खेल रद्द हुँदा अंक बाडेर ९ अंक बटुलेको छ । विराटनगरले भने समान ६ खेलमा तीनमा जित र ३ मा हार ब्यहोर्दै जम्मा ६ अंक जोडेको छ । लुम्बिनी अहिले दोस्रो स्थानमा छ भने विराटनगर पाँचौमा ।
आज विराटनगरले जितेमा ऊ ८ अंकसहित चौथो स्थानमा पुग्नेछ । पराजित भएमा लुम्बिनी दुई अंक बढाएर ११ अंकसहित शीर्षस्थानमा पुग्नेछ । काठमाडौं र चितवनले अझै एक एक खेल खेल्न बाँकी छ । त्यसो त कर्णाली र पोखराले एक एक खेल अझै खेल्न बाँकी छ । तर दुवै टिम जिते पनि प्लेअफ पुग्ने संभावना नरहेकोले दोस्रो चरणको दौडबाट टाढिएका छन् । भोलि कीर्तिपुरमा चितवन र कर्णाली तथा काठमाडौं र पोखराको खेल हुनेछ ।







