काठमाडौँ, २ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज भइरहेको ‘एलिमिनेटर’ खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान रवि बोपाराले पहिले ब्याटिङ गर्ने निर्णय लिनुभएको हो ।
आजको खेल जित्ने टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ मा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको खेलमा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो । आजको खेलमा हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणमा काठमाण्डुले सातमध्ये चार खेल जित्दा तीन खेलमा हार व्यहोरेको थियो । चितवनले तीन खेल जितेको थियो भने तीन खेलमा पराजित भएको थियो । वर्षाका कारण एक खेलको नतिजा नआउँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।
यस संस्करणको लिग चरणमा भएको पहिलो भेटमा काठमाण्डुले चितवनलाई १० रनले पराजित गरेको थियो ।