दोहा(कतार), ४ मंसिर। कतारको राजधानी दोहामा भइरहेकोल एसिया कप राइजिङ स्टार्स क्रिकेटमा पहिलो खेलमा नेपालको कन्त बिजोग भएको छ । एक दिवसीय राष्ट्रिय टोलीको कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोली भारत ‘ए’ सँग ३ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा ३ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा समेटियो।
नेपालको यो लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा कम स्कोर हो। यसअघि नेपालको न्यून स्कोर ९४ रन थियो। यससँगै नेपालले आफ्नै खराब रेकर्ड तोडेको छ। विश्व लिस्ट ‘ए’ क्रिकेटमा २६ रन पाँचौँ न्यून स्कोर हो।
एसोसिएट राष्ट्रबाट भने सबैभन्दा रन ओमानले बनाएको थियो। १९ फेब्रुअरी २०१९ मा स्कल्यान्डविरुद्ध ओमानले २४ रन बनाएको थियो। उक्त खराब कीर्तिमान भने नेपालले बचाएको छ।
भारतका प्रिन्स यादवले नेपाली ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा ५ विकेट लिए। उनले ५ ओभरमा ६ रन मात्र खर्चिए। हर्षित रानाले ६ ओभरमा १६ रन दिएर ४ विकेट झारे। शाहबाज अहमदले १ विकेट लिए।
नेपालको सुरुआत नै खराब रह्यो। अर्जुन कुमाल र कुशल भुर्तेल खाता नखोली आउट भए। दीपक डुम्रेले १ रन बनाउँदा बसिर अहमद पनि शून्यमा पेभेलियन फर्किए। त्यसपछि पनि नेपाली ब्याटरले सम्हालिएर खेल्न सकेनन्।
पवन सर्राफ र राशिद खानले समान ६ रन बनाए। प्रतिश जिसीले ४, नन्दन यादव र ललित राजवंशीले समान २ तथा दीपक डुम्रेले १ रन जोडे। लोकेश बम र कप्तान सन्दीप लामिछाने पनि खाता नखोली आउट भए।
यसअघि भारत ‘ए’ ले तिलक वर्मा र कुमार कुशाग्राको शतकमा ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३२ रन बनाएको थियो। दुवैले चौथो विकेटका लागि २ सय ६ रनको साझेदारी गरेका थिए।
कप्तान वर्माले १ सय १३ बलमा १ सय ७ रन बनाए। कुशाग्राले १ सय २ बलमा १ सय १७ रन जोडे। सूर्यांश शेड्गेले १४ बलमा अविजित ३६ रन बनाए।
नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान ३।३ विकेट लिए। नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट झारे।
नेपालको बलिड. पनि जम्न सकेन । ५.१,६.६ र १०.३ ओभरमा ३ विकेट झारेको नेपालले त्यसपछिका ३२ ओभरमा कुनै विकेट लिन सकेन । अन्तिमतिरका ओभरमा नेपाली खेलाडीले लय पक्डनु अगाडि भारतले ठूलो स्कोर जम्मा गरिसकेको थियो । नेपालले ४२.२ ओभरका चौथो विकेट झार्दा भारत एले २ सय ४८ रन बनाएको थियो । ४५.२ ओभरमा पाँचौ विकेट लिदा उसले २ सय ८३ रन बनाएको थियो । ४६.२ ओभरमा छैठौ विकेट लिदा भारतको स्कोर २ सय ८७ थियो । ४८.३ ओभरमा सातौ विकेट झार्दा उसले ३ सय १२ रन बनाइसकेको थियो । ४८.४ ओभरमा आठौं विकेट चट्काउदा भारतको स्कोर ३ सय १२ नै थियो भने ४९.१ मा नवौं विकेट लिंदा उसले ३ सय १७ जोडेको थियो ।






