मेलबर्न(अष्टेलिया), १७ पुस । नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछानेले अष्टेलियाको चर्चित घरेलु लिग बिग ब्यासमा चौथो खेल खेल्दैछन् ।
सन्दीप आबद्ध मेलबर्न स्टार्सले आज बिग ब्यासमा लिगको आफ्नो चौथो खेल मेलबर्न रेनेगेड्सविरुद्ध खेल्दैछ।
नेपाली समय अनुसार दिउँसो २ बजे मेलबर्नमा सुरू हुने खेलमा मेलबर्न स्टार्सको कप्तानी ग्लेन म्याक्सवेलले गर्नेछन भने मेलबर्न रेनेगेड्सको कप्तानी टम कुपरले सम्हालेका छन् ।
तीन खेलको हालसम्मको नतिजामा मेलबर्न रेनेगेड्स अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने मेलबर्न स्टार्स एक जीत र दुई हारसहित छैठौं स्थानमा रहको छ । खेलमा ८ टीम सम्मिलित छन् ।
सुरूवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले तेस्रो खेलमा जित निकालेको थियो।
पहिलो चरणका लागि बिग ब्यासमा आजको खेल नै सन्दीपको लागि अन्तिम खेल हुनेछ।
सन्दीप भोलि नै बंगलादेश
अघिल्ला तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप भोलि नै बंगलादेश जाने कार्यतालिका रहेको छ ।
बंगलादेश प्रिमियर लिगमा सन्दीपले स्यलहेट सिक्सर्सबाट खेल्ने छन्। बंगलादेश प्रिमियर लिग आगामी शनिबारबाट सुरू हुनेछ।
बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दै छन्। स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन्।
टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ। बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।
यसबीचमा सन्दिप नेपालले युएईसंग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन्। नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सोमबार युएईसंग खेल्नको लागि घोषित २० सदस्यीय प्रारम्भिक टिममा सन्दिप पनि छन्।
नेपालको लागि युएई विरुद्धको सिरिज खेल्न सन्दिप बंगलादेश प्रिमियर लिगमा जनवरी २३ तारिकमा हुने खुल्ना टाईटन्स बिरुद्धको खेल खेलेपछि युएई प्रस्थान गर्ने सम्भावना रहेको छ।
युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिगकै बाँकी खेल खेल्नेछन्। बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन्।
बिग ब्यासमा सन्दीप
बिग ब्यासमा सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट लिए। होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए। तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। यस क्रममा उनले तीनै वटा प्रतिस्पर्धी टिमका कप्तानहरुको विकेट झारिदिएका छन् ।
क्यानबेरामा सम्पन्न पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्सका कप्तान शेन वाट्सनलाई आउट पारे भने दोस्रो खेलमा भने होर्वाट हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई क्याच आउट गरेका थिए। सन्दीपले तेस्रो तथा विजयी खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनिरिक्सलाई एलबिडब्लु धरापमा पारेका थिए।
बिग ब्यास क्रिकेटमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर्स गरी ८ टिम समावेश छन्।
राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राइकरले जितेको थियो।
यसैबीच सन्दीपको मंगलबार हुने खेल हेर्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन्।
एक्स्पर्ट क्रिकेट फेस्टिभलमा भाग लिन गएका पारस र यू(१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अहिले अष्टेलियामा छन् । मेल्वर्न रेनेगेड्सविरूद्ध मंगलबार नेपाली समयअनुसार दिउँसो दुई बजे हुने खेल पारसले मेल्वर्न स्टार्सकै डाइरेक्टर बक्समा बसेर हेर्ने प्रबन्ध मिलाइएको छ ।