Prakash Adhikari January 1, 2019

मेलबर्न(अष्टेलिया),१७ पुस । पहिलो चरणका सबै खेलमा प्रतिस्पर्धी टीमका कप्तानहरुको विकेट लिने उत्कृष्ट खेलाडीको स्थान बनाएर मंगलबार मेलबर्न रिनेगेड्सका कप्तान कुपरको विकेट लिएर नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले अष्टेलियाको चर्चित घरेलु क्रिकेट बिग ब्यासको खेल यात्रा स्थगित गरेका छन् । उनी पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि बंगलादेश प्रिमियर लिगको तयारीका लागि ढाका प्रस्थान गर्दैछन् ।

अष्टेलियाको घरेलु क्रिकेटको चर्चित प्रतियोगिता बिगब्यास लिगमा ८ टीम प्रतिस्पर्धा गरिरहेका छन् । हरेक टीमले प्रथम चरणमा ७ खेल खेल्न पाउछन् । सन्दीप बाँकी ३ खेल खेल्न पाउने अवसर छदै बंगलादेश प्रिमियर लिगको लागि बुधबार अष्टेलिया छाड्दैछन् ।

खेलमा टस जितेर सन्दीपको टिम मेलबर्न स्टार्सले पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनको योगफल तयार गरेको थियो। मेलबर्नको लागि ड्यानियल क्रिस्टीएनले सर्वाधिक ३२ तथा ओपनर स्याम हुपरले ३० रन बनाए।

मेलबर्न स्टार्सको बलिङ्गमा ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए भने स्कट बोलाण्ड र मार्कस स्टोइन्सले २/२ विकेट लिए। सन्दिप लामिछाने र एडम जाम्पाले १/१ विकेट लिए।

सन्दीपले प्रतियोगितामा चौथो खेलमा ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका छन्।

खेलको तेश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको चौथो र पाँचौ बलमा स्याम हार्परले चौका हिर्काए। तेश्रो बल सन्दिपले फुलटस फालेका थिए भने चौथो बललाई स्क्वायर लेगको पछाडी हार्परले स्टम्प भन्दा अघि बढ्दै स्लग स्विप गरेका थिए। पहिलो ओभरमा उनले ११ रन खर्चिए।

खेलको ११ औं ओभरमा व्यक्तिगत दोश्रो ओभर बलिङ्ग गरेका सन्दीपले अन्तिम बलमा कप्तान टम कुपरलाई बोल्ड आउट गर्दै पहिलो विकेट लिए। दोश्रो ओभरमा उनले ४ रन खर्चेर १ विकेट लिए।

त्यसपछि लगाता आफ्नो तेश्रो ओभर बलिङ्ग गर्न आएका सन्दीपले ८ रन खर्चिए। त्यस क्रममा ओभरको पहिलो ३ बलमा १ रन मात्र दिएका सन्दिपलाई चौथो बलमा ड्यान क्रिस्टीएनले चौका प्रहार गरे।

स्पेलको अन्तिम ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा बिउ वेबस्टरले चौका प्रहार गरे। चौथो ओभरमा ९ रन खर्चेका सन्दिपले ४ ओभरमा कुल ३१ रन खर्चेर १ विकेट लिए।

प्रतियोगिताको यस अघिको ३ वटा खेलहरुमा सन्दिपले कुल ७ विकेट लिएका थिए। ४ खेलमा ८ विकेट लिएपछि सन्दिप प्रतियोगिताको धेरै विकेट लिने बलरहरुको सूचीमा चौथो स्थानमा रहेका छन्। सूचीमा सिड्नी सिक्सर्सका स्टिभ ओ किफ ५ खेलमा १० विकेट सहित शीर्षस्थानमा रहेका छन्।

Share Now

Leave a comment.