हैदरावाद(आन्ध्र,भारत) ११ चैत्र । भारतको अभ्यास भ्रमणमा रहेको नेपाली यु १९ क्रिकेट टिमले आफ्नो तेश्रो अभ्यास खेलमा आन्ध्रा स्टेट यु १९ क्रिकेट टिमलाई १ विकेटले पराजित गरेको छ।
अप्रिल १० देखि २० सम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप नेपाली अहिले भारतको आन्ध्रमा अभ्यास भ्रमणमा रहेको छ ।
अभ्यास भ्रमण अन्तर्गत नेपाली युवा टिमले आन्द्रा यु १९ टिमलाई पहिलो खेलमा ६२ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा आन्ध्रा टिमसंग ७२ रनले पराजित हुन पुगेको थियो।
भ्रमण अभ्यास अन्तरगत मंगलबार भएको तेस्रो ५० ओभरको खेलमा टस जितेर ब्याटिंग गर्दै आन्ध्र यु १९ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२७ रन बनायो र नेपालसमक्ष २२८ रनको लक्ष्य प्रस्तुत गर्यो।
२ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको खेलमा १ विकेट बाँकी रहंदा ४७.३ ओभरमा सो लक्ष्य भेट्यो।
रोहित पौडेलको उत्कृस्ट इनिंग
नेपालको सुरुवात राम्रो भएन। ७३ रनको योगफलमा नेपालले पहिलो ४ विकेट गुमाउन पुग्यो।
ओपनर रित गौतम पहिलो ओभरमा खाता नखोल्दै आउट भए । आसिफ शेख १२ रन बनाएर बाहिरिए । पवन सर्राफ ३० रन तथा हरि चौहान ७ रन बनाएर आउट हुँदा नेपाल समस्यामा परेको थियो।
७३.४ को अवस्थाबाट कप्तान रोहित पौडेल र भिम शार्कीले उत्कृष्ट साझेदारी गर्दै नेपालको विजयको आधार तयार गरेका थिए।
पाँचौ विकेटको लागि १०१ रनको साझेदारी गरेपछि रोहित पौडेल ७१ रनको व्यक्तिगत योगफल बनाएर आउट भएका थिए। रोहितले ६५ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
रोहितको विकेट पछि भिम शार्की पनि अर्धशतक बनाउन १ रनले चुक्दै आउट हुन पुगे। भिमले ८२ बलमा ३ चौका प्रहार गरे।
कुशल मल्ल र सन्दीप जोराले त्यसपछि सातौँ विकेटको रुपमा २५ रन जोड्दै नेपालको योगफल लक्ष्य नजिक पुर्याएका थिए। सन्दिप १९ रन तथा कुशल १३ रन बनाएर आउट भए भने रासिद खान ३ रन बनाएर आउट भए।
४६ ओभरमा २२३.९ को अवस्थाबाट कमल ऐरी र सागर ढकालले नेपाललाई जितसम्म पुर्याए।
आन्ध्राका बलर क्यामिल एक्लैले १० ओभरमा ५ विकेट लिंदै नेपाललाई मुस्किल बनाएका थिए।
कमल र पवनको बलिंग
खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आन्द्रा यु १९ टिमले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय २७ रनको योगफल तयार गरेको थियो ।
आन्द्रालाई २ सय २७ मा सिमित गर्न तीव्र गति ओपनिंग बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिने क्रममा ९.१ ओभरमा ४७ रन खर्चिएका थिए। पवन सर्राफले ३ महत्वपूर्ण विकेट लिन १० ओभरमा मात्र ३८ रन खर्चिए। प्रतिश जिसी , रासिद खान र सागर ढकालले समान १ । १ विकेट लिए ।
आन्ध्र्रको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका बी योगेन्द्रले सर्वाधिक ५९ रन बनाए भने ओपनर नितेश कुमारले ५१ रन बनाए। पी सुब्रमण्यम् ४५ तथा रामप्रसादले २६ रन बनाए।
२००।५ को अवस्थामा रहेको बेला कमल सिंह ऐरीले अन्तिममा लगातार विकेट लिंदा २७ रनमा नै आन्ध्रले बाँकी ५ विकेट गुमाएको थियो।