Prakash Adhikari March 27, 2019

काठमाडौं,१३ चैत्र। यही चैत्र १५ र १६ गतेका लागि निर्धारण गरिएको नेपाल लगानी सम्मेलन २०१९ को तयारी लगभग पूरा भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार केही देशका लगानीकर्ता सम्मेलनको लागि नेपाल आउन थालेका छन् । आउने क्रम जारी छ ।

यसै बिच अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस पटकको सम्मेलनबाट अपेक्षित लगानी भित्रने दावी गर्नुभएको छ । उहाँले विगतमा भन्दा अहिले तयारीका क्रममा लगानीकर्ताहरुको मुख्य चासोमा रहेका नेपालका कानूनहरुको अस्पष्टता र कमजोरीलाई सच्याएर सम्मेलनको आयोजना गरिएकोले नतिजा विगतको भन्दा राम्रो निस्कने जिकिर गर्नुभएको छ । उहाँल करका बिषयहरुलाई थप बैज्ञानिक बनाउनेदेखि नाफा लैजानेसम्मको ग्यारेन्टी ऐनद्धारा नै गरिएकोले लगानीकर्ताहरु थप विश्वसनीय बन्ने आधार तयार भएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले करका दरमार्फत लगानीकर्तालाई दिइएको सुविधा ४ /५ बर्षसम्म परिवर्तन नहुने ग्यारेन्टीसमेत गरिएको बताउनुभयो। उहाँले चाँडै एकद्वार प्रणाली बनाएर लगानीकर्तालाई सहजरुपमा सेवा सुविधा दिन उद्योग मन्त्रालय र लगानी बोर्डलाई सहयोग गर्न मन्त्रालय सदा तत्पर रहेको पनि बताउनुभयो ।

लगानी सम्मेलन २०१९ सम्बन्धि पत्रकार सम्मेलन ।

नेपाल सरकारको अगुवाई र निजी क्षेत्रको सहकार्यमा आयोजना भएको यो सम्मेलनमा निजी क्षेत्रले पहिचान गरि विकासको चरणमा पुर्याएका आयोजनाहरुलाई पनि विश्वका लगानीकर्ता सामु प्रस्तुत गरिने भएको छ ।

 

सम्मेलन आयोजकका तर्फबाट अर्थमन्त्रीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा नेपालको निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरु स्वयं उपस्थित भई यो सम्मेलनमा विश्व लगानीकर्तासमक्ष नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिन अत्यन्त महत्वपूर्ण भएको धारणा राखेका थिए ।निजी क्षेत्रका प्रतिनिधिहरुले लगानी सम्मेलनले विदेशी लगानीको ढोका खोल्ने बताएका छन्।उनीहरुले लगानी सम्मेलनको पूर्व र समयावधिमा कुनै नकारात्मक समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुझाव दिएको थिए ।

चैत १५ र १६ गते आयोजना हुने सम्मेलनमा ३ खर्ब ६९ अर्बको लागत अनुमान गरिएका ७७ वटा परियोजनाहरु लगानीकर्तासामु प्रस्तुत गरिदै छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योगबाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालले स्थिर सरकार पाएसंगै श्रम र उर्जा समस्या हल भइसकेकाले लगानीको वातावरण बनेको बताउनुभयो।

 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तले अहिलेको सम्मेलन नेपालमा लगानीको वातावरणबारे स्पष्ट सन्देश दिन र कहि कतै संशय भए त्यो हटाउने उपयुक्त अवसर भएको दावी गर्नुभयो । उहाँले लगानी सम्मेलन निजी क्षेत्रसमेत सहकार्यमा आयोजना भएकोले यसलाई सफल पार्न आग्रह गर्दै सम्मेलन दीर्घकालीन लगानी जुटाउने प्रकृया भएको बताउनुभयो । उहाँले लगानीकर्तालाई यस्ता सम्मेलनले नेपालमा डोर्याउन मद्दत गर्ने पनि बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीको वातावरण बनेको र यसका बारेमा सम्बन्धित देशका राजदूतहरुले पनि सहयोगी भूमिका रहने र विश्वभर छरिएका नेपालका कुटनीतिक नियोगको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्ताव गर्न लागिएका प्रत्येक परियोजनाको स्टिमेसन गर्न चार देखि ६ जनाको समूह बनाए अध्ययन गराए र संभावित लागत निकालेका निकालिएकोले प्रस्तुत हुने आयोजनाहरु पूर्व संभाव्यता अध्ययनको चरणमा रहेको मान्न सकिने र लगानीकर्ताले परियोजना मन परेमा आफै संभाव्यता अध्ययन गराउन सक्ने बताउनुभयो ।

६ सय बढी लगानीकर्ताको सहभागिता

सम्मेलनमा चालिस देशका ६०० भन्दाबढी लगानीकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएको छ । सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिनेछ ।

यसपटकको लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्ताको अधिक सरोकार रहेका विषयसंग सम्बन्धित ऐन र कानूनहरुको संशोधन गरेर लगानीकर्ताहरुको विश्वास जित्ने प्रयास गरेको छ । सरकारले विदेशी लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्यका साथ संघीय संसदमा प्रस्तुत गरेका सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित भैसकेको छ । यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई समेत सङ्घीय संसद्ले पारित गरिसकेको छ ।

सरकारले विदेशी लगानीलाई लक्षित गरि संसदमा पुर्याएका मध्येराष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास विधेयक, सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक, सेफगाड्र्र्स, एन्टी–काउन्टर भेलिङ विधेयक र विदेशी विनिमय ऐन, २०२० संशोधन सम्बन्धी विधेयक भने संसदमा नै विचाराधीन छन् । त्यस्तै बौद्धिक सम्पत्ति संरक्षण (पेटेन्ट, ट्रेडमार्क र डिजाइन) ऐन, खानी तथा खनिज पदार्थ ऐन, सार्वजनिक खरिद ऐन, औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, वातावरण संरक्षण ऐन र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐनको संशोधन विधेयक पनि पारित हुन सकेनन् । तर संशोधनको प्रक्रियामा रहेकोले दुई तिहाईको सरकारको प्राथमिकतामा परेको यी विधेयकहरु आउदो बजेट अधिवेशनमा पारित हुन सक्ने विश्वास गर्ने अवस्था भने रहेको छ ।

वैदेशिक लगानीका लागि लगानीकर्ताले उठाउँदै आएका महत्वपूर्ण कानूनी तथा नीतिगत सुधार भैसकेकोले लगानीकर्ताले समेत आफूले इच्छाएको परियोजनामा लगानी गर्नसक्ने वातावरण बनेको लगानी बोर्डको दावी छ ।

 

लगानीकर्तासामु लैजाने आयोजनाहरु

 

सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि , सूचना प्रविधि, औद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

मुलुकको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी सरकारले आठ ठूला परियोजना लगानीकर्ताको लागि प्रस्तुत गर्दैछ । त्यसमा नलगाड जलविद्युत् आयोजना, पश्चिम सेती नदी छैटौ, , सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र सेती नदी छैठौ संयुक्तलाई प्रमुख आयोजनाको रुपमा राखिएको छ ।

लगानी बोर्डले हाल निर्माणाधीन अवस्थामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी र विकासको चरणमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनाका बारेमा पनि सम्मेलनमा प्रस्तुति दिने भएको छ ।

कृषितर्फ प्रदेश नं २ वा ५ मा रासयनिक मल उद्योग, सुर्खेत,चितवन,बनेपा,गोदावरी अत्तरीय,हेम्जा पोखरा,पर्सागढी पर्सा ,तिलोत्तमा मणिग्राम र उर्लाबारी मोरड.मा एकीकृत कृषि पूर्वाधार परियोजना विकाससम्बन्धी आयोजनाहरु प्रस्तुत गरिएका छन् ।
शिक्षा र स्वास्थ्यमा घुलिखेल मेडिसिटी, शिक्षा,स्वास्थ र खेलकुद सहर,गण्डकी प्रदेशको शुक्ला गण्डकी नगरपालिकामा गण्डकी प्राविधिक विश्वविद्यालयको स्थापनाको आयोजनाहरु प्रस्तुत गरिदैंछ ।

उद्योगतर्फ रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामात औद्योगिक उद्यानको स्थापना र बाराको सिमरामा स्थापित विशेष आर्थिक क्षेत्रको ब्लक बी र सीको विकास रहेका छन्।

पर्यटनतर्फ तनहुँ जलविद्युत आयोजना निर्माणमा बन्ने जलाशयलाई समेत दृष्टिगत गरी दमौली बहुद्देश्यीय पर्यटन विकास आयोजना, दोलखाको रोल्वालिड. वा सैलुड.मा खेल र शिक्षा पर्यटनलाई सघाउने गरि दोलखा पर्वतीय प्रतिष्ठानको विकास, धुलिखेल स्वप्नभूमि, दोलखा फिल्म सिटी,गौतमबुद्ध अन्तराष्ट्रिय प्रसूती गृह,जानकी सम्पदा तथा सांस्कृतिक ग्राम होटल, डोल्पाको से फोक्सोण्डोमा लक्जरी रिसोर्टको स्थापना,मनाडंमा स्की रिसोर्टको स्थापना,प्रदेश १ को इटहरीमा तालतलैया उद्यान र होटलका साथै खप्तडमा केवलकार, होटल,संग्राहलय स्थापना लगायत पर्यटकीय पूर्वाधार विकासका आयोजनाहरु सरकारले लगानीकर्तासामु पस्किएको छ ।

यस्तै पूर्वाधार विकासका आयोजनामा धनगढी र विराटनगर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंको चक्रपथमा बस र्यापिड ट्रान्जिटको विकास, पूर्व पश्चिम विद्युतीय रेल्वेको निर्माण, सुदूर पश्चिममा प्रदेशभित्र र अन्तरप्रदेश सार्वजनिक यातायात,काठमाडौ,पोखरा र लुम्बिनी रेल्वे,काठमाडौ उपत्यका मेट्रो रेल, रामग्राम तिलौराकोटको बुद्धमार्गी सडकमा द्रुत सार्वजनिक यातायातको विकास, काठमाडौं बाह्य चक्रपथको निर्माण र सामाखुशी टोखा छहरे सडक स्तरोन्नति आयोजना रहेका छन् ।

लगानी सम्मेलनमा शहरी विकास तर्फ हेटौडा स्मार्ट सिटी,धुलिखेल, रत्ननगर,बुटबल,जनकपुरमा एकीकृत फोहरमैला व्यवस्थापन र नेपाल अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी स्थल निर्माणका योजनाहरु प्रस्तुत हुँदैछन् ।

निजी क्षेत्रका आयोजनाहरु

यस पटकको लगानी सम्मेलनमा निजी क्षेत्रले पहिचान गरि विकासको चरणमा पुर्याएका विशाल सिमेण्ट उद्योग, गरुड सिमेन्ट उद्योग,आईएमई सिमेन्ट उद्योग, ईड.वा जलविद्युत आयोजना, जल्पादेवी केवल कार, कालिगण्डकी गर्ज जलविद्युत आयोजना, तल्लो वरुणखोला जलविद्युत आयोजना,मध्य कालिगण्डकी जलविद्युत आयोजना, म्याग्दीखोला जलविद्युत आयोजना,नाम्लान खोला जलविद्युत आयोजना, हिमालयन बुटिक रिसोर्ट,सिक्लेस अन्नपूर्ण केबल कार,स्वर्गद्धारी केवल कार, तरप खोला जलविद्युत आयोजना, त्रिशुली गल्छी जलविद्युत आयोजना,अपर बलेफी ए जलविद्युत आयोजना,अपर बलेफी जलविद्युत आयोजना, बुढी गण्डकी जलविद्युत आयोजना,अपर चमेलिया जलविद्युत आयोजना, भोटेकोशी ५ जलविद्युत आयोजना, स्वप्न सहर, ह्यात प्यालेस काठमाडौ, मुक्तिनाथ दर्शन केवल कार, मस्र्याड.दी ७ जलविद्युत आयोजना, कावेली ३ जलविद्युत आयोजना, भोटेकोशी ५ जलविद्युत आयोजना, र अपर दूघखोला जलविद्युत आयोजनाहरु विदेशी लगानीकर्ताहरुको सामु राखिनेछ ।

यस पटकको सम्मेलनमा भने लगानीकर्तालाई परियोजनाको समग्र अवस्थाको जानकारी पनि दिइनेछ । लगानी सम्मेलनमा नेपाल सरकार वा निजी क्षेत्रले प्रबर्धन गरेका आयोजनामा लगानी गर्न चाहने बैदेशिक लगानीकर्तालाई सघाउन र सहमति पत्रमा हस्ताक्षर गर्ने भए सो कार्य सम्पादन गर्न लगानी बोर्डले सचिवालयको सेवा उपलब्ध गराउनुको साथै लगानीको समझदारी पत्रमा हस्ताक्षर पनि गराउन सघाउने छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

सहभागिता र सम्बोधन

तीनवटा प्लेनरी र तीन वटै प्यारलल सेसन, उदघाटन र समापन गरी ८ सेसनमा सम्पन्न हुने लगानी सम्मेलनमा माइक्रोसफ्ट, अमेजन, टर्कसेल, मिगा, सर्राफलगायत ग्रुपका प्रतिनिधि पनि सहभागी हुनेछन् । यस्तै इण्डिया सेन्ट्रल इलेक्ट्रीसिटी अथ्योरीटीका सचिव, पावर चाइनाको जनरल म्यानेजर, सुमितुको जनरल म्यानेजर, इन्भेष्ट इण्डियाका सिइओलगायतका व्यक्ति आउने भएका छन्।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेशी आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर , एशियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चेन , मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष डा. सहजद नासिम, द मुथुड ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुड , केन्द्रीय विद्युत् विनियामक आयोग भारतका सचिव सनोजकुमार झा , पावर चाइनाका महाप्रबन्धक सोङ डोङसेङ , जियोग्राफिक इन्कुबेसनका चन्द्र बलानी अमाजन इन्टरनेसनल सर्भिस प्रालि इन्डियाका प्रमुख सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता , बंगलादेश, नेपाल, भुटान, लाओस, माइक्रोसफ्ट एसिया प्यासेफिकका महाप्रबन्धक सोनिया बासिर काबिर एडिबीका उपाध्यक्ष , सिजिङ सेन , इन्भेस्ट इन्डियाका प्रमुख कार्यकारी अधिकृट दीपक बाग्ला आउने हुनुभएको छ।

सम्मेलनमा चीनबाट सबैभन्दा बढी २ सय ९ जना लगानीकर्ता नेपाल आउने भएका छन्। भारतबाट १ सय १०, म्यानमारबाट २८, जापानबाट २०, दक्षिण कोरियाबाट १५, ओमानबाट १३, अमेरिकाबाट ११, श्रीलंकाबाट १०, क्यानडा, बेलायत, मलेसिया र सिङ्गापुरबाट ९र९ जना र अन्य देशबाट ६५ जना सहभागी हुने छन्। नेपालबाट भने ४९ जना लगानीकर्ता सहभागी हुने भएका छन्।

समूह छलफलका लागि ऊर्जा क्षेत्रको लगानीको विषयमा ऊर्जा मन्त्री बर्षमान पुन‘अनन्त’, ऊर्जा मन्त्रालयका बरिष्ठ इन्जीनियर सागरराज गौतम, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा, पावर चाइनका महाप्रवन्धक सोङ डोनशेङ र ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान रहेका छन्।

त्यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ संञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, अमेजन इन्टरनेट सर्भिस भारतका विभागीय प्रमुख चन्द्र बलानी, इन्सेसान्ट रेन स्टुडियोका प्रमुख कार्यकारी अधिकृत किरणभक्त जोशी, सुमितोमोका महाप्रवन्धक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रवन्ध निर्देशक सोनिया बशीर कबिर र सफल पार्टनरका प्रवन्ध निर्देशक आशुतोष तिवारी रहेका छन्।

पर्यटनतर्फ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मकाउ विश्वविद्यालयका सहप्राध्यापक ग्लेन म्याक्कार्थी, सिल्भर हेरिटेज ग्रुपका सीईओ माइक बोलसोभर, कतार एयरवजका कन्ट्री डाइरेक्टर मोहम्मद एल इमाम र द्धारिकाज ग्रुपका प्रवन्ध निर्देशक सङ्गीता श्रेष्ठ छन्।

उद्योगमा तर्फ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, उद्योग सचिव यमकुमारी खतिवडा, सूर्य नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दार, गोल्छा ग्रुपका कार्यकारी निर्देशक शेखर गोल्छा, ह्वासिन सिमेन्टका उपाध्यक्ष शु गाङ र पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन्।

भौतिक पूर्वधार तर्फ भौतिक, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भौतिक पूर्वधार सहसचिव गोपालप्रसाद सिग्देल, इन्फ्रास्ट्रक्चर / इनर्जीका निर्देशक एन्ड्रिस क्रिमर , विश्व बैंकका लिड ट्रान्सपोर्ट विशेषज्ञ अर्णव बन्दोपाध्याय, कोडाका महासचिव एचई झेनवेई, शराफ ग्रुपका महासचिव सालाह शरफ, चाइन रेलवे इन्टरनेशनल ग्रुपका उपमहाप्रवन्धक वाङ लिजी र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित छन्।

बन तथा कृषि तर्फ कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणि खनाल बलदेव, कृषिका सहसचिव योगेन्द्रकुमार कार्की, सार्क डाबर इण्डियाका विजनेश हेड हरकिरत सिंह बेदी, हेस्टर वायोसाइन्सका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्टल इन्डियाका बरिष्ट उपाध्यक्ष सञ्जय खजुरिया, चाइन हर्वल मेडिसिन महासचिव वान बाइग्याङ र गोल्यान ग्रुपका पवनकुमार गोल्यान छन्।

राजनीतिक सङ्क्रमणकालको अन्त्य भई देशमा स्थिर सरकार बनेको सन्दर्भमा आयोजना गरिएको सम्मेलनले सरकारको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

लगानीकर्तालाई सहज सेवा दिने लक्ष्यका साथ लगानी बोर्डमा नै एकल विन्दु सेवा दिइने भएको छ । सम्मेलनमा नै केही आयोजनासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी समेत गरिएको छ ।

धेरै देशका लगानीकर्तालाई आमन्त्रण गरेर आयोजना गरिएको सम्मेलन आफैमा बहुआयामिक महत्वको रहेको छ ।

चालु आर्थिक वर्षको ७ महीनामा मात्रै रु १ खर्ब ७३ अर्ब बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

Share Now

Leave a comment.