Prakash Adhikari May 4, 2019

काठमाडौ,२१ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्ने लिखित सहमति गरेका छन्।

सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेका छन्।

फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार पार्टी एकता सोमवार घोषणा गरिने र नाम समाजवादी पार्टी नेपाल रहनेछ।

ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री
उनले दिएको जानकारी अनुसार महाधिवेशनपछिको ठूलो निकाय संघीय परिषद् र कार्यकारी निकाय केन्द्रीय समिति हुनेछ।

कार्यकारी अधिकार

परिषद्को नेतृत्व बाबुराम भट्टराईले गर्ने छन् भने केन्द्रीय समितिको अध्यक्ष यादव हुनेछन्।

नेता राईका अनुसार परिषद्ले नीतिगत काम धेरै गर्नेछ भने केन्द्रीय समितिले दैनिक काम र निर्णय गर्नेछ।

दुईजना अध्यक्ष रहने विधिमा पार्टी एकता गरिए पनि कार्यकारी निकायको नेतृत्वमा यादव रहने देखिन्छ।

तर भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार केन्द्रीय समितिको निर्णय आवश्यक देखेमा उल्टाउन सक्ने अधिकार भट्टराई अध्यक्ष रहने परिषद्‍मा हुनेछ।

नेता राईले भने, “विधिले कार्यकारी अधिकारीबारे जेसुकै भने पनि हामीले सामूहिक नेतृत्वको प्रणालीबाट जाने सहमति गरेका छौं।”

पाण्डेका अनुसार बरिष्ठताक्रममा भट्टराईपछि यादव हुनेछन्।

पदाधिकारी कति?

फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना गरी एकीकृत दलमा पदाधिकारी २५ जना हुनेछन्।

जसअनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव राखिनेछ।

दुबै दलका केन्द्रीय सदस्य रहने एकीकृत केन्द्रीय समिति बनाउने सहमति भएको बताइएको छ।

के नेपालमा वैकल्पिक राजनीतिक शक्तिको भविष्य छ?
पार्टी महाधिवेशन असोज महिनाभित्र गर्ने प्रारम्भिक सहमति रहेको नेता अशोक राईले जानकारी दिए।

सरकारलाई समय-सीमा

नयाँ शक्तिले यसअघि सरकार छाड्न फोरमलाई आग्रह गरेको समाचारमा जनाइको थियो।

नेता राईले एकता वार्तामा त्यसलाई छलफलको विषय नबनाइएको बताए।

बाबुराम भट्टराईको ‘देश अनुसारको भेष’ ले तताएको बहस
तर नेता पाण्डेका अनुसार एकीकृत दलले ‘जायज माग संविधान संशोधनमार्फत सम्बोधन गर्न’ सरकारलाई समय सीमा दिने छ।

माग पूरा नभएमा पार्टीले सरकार छाड्ने उनले बताए।

फोरम र नयाँ शक्तिसँग राष्ट्रिय जनता पार्टी नेपालको पनि एकता प्रयास भइरहेको बताइएको थियो। तर यो एकतामा उक्त दल परेको छैन।(बीबीसी)

Share Now

Leave a comment.