Prakash Adhikari May 15, 2019

काठमाडौं,१ जेठ । प्रजातान्त्रिक विचार समाजले सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको बताएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै समाजले सरकारमा आफ्नो आदेश नमान्नेलाई ठिंगुर्याउने प्रवृत्तिको विकास हुँदै गएको जनाएको छ ।

समाजका तर्फबाट अध्यक्ष केदारनरसिंह के.सी र महासचिव गोकर्ण अर्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारमा सुरुमै शक्तिपृथकीकरणको सिद्धान्तलाई अस्वीकार गरेर अधिनायकवादी शैलीमा अघि बढ्ने आशय देखायो । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालय जस्ता कार्यालयहरू प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु, संघीयताप्रति उदासीनता देखाउनु, विरोधी स्वर नियन्त्रणको प्रयत्न गर्नु, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्नु, प्राज्ञिक संस्थाहरुमाथि हस्तक्षेप गर्नु विपक्षमाथि अरिङ्गाल भएर जाइलाग्न कार्यकर्तालाई निर्देशन दिनु, बौद्धिक समुदायलाई थलापार्ने चेतावनी दिनु, संवैधानिक निकायहरूलाई कार्यकारिणीको लाचार छायाँ बनाउने प्रयास गर्नु जस्ता उदाहरणले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले नेतृत्व गरेको सरकारको सर्व सत्तावादी प्रवृत्ति उजागर भएको छ ।’

समाजले देशमा शान्ति सुरक्षा र सुव्यवस्था समेत कायम हुन नचाहेको बताएको छ । उसले संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएपछि देशमा सुशासन कायम हुनेछ भन्ने जनअपेक्षा समाजमा बढ्दै गएका हत्या, हिंसा र बलात्कारका जघन्य अपराधका घटनाको छानवीन गरी दोषीलाई कारबाही गर्ने तत्परता नदेखाएकोले अपराधीको मनोबल बढने र पीडितहरु झन पीडित बन्नुपर्ने अवस्था आएको बताएको छ ।

समाजले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधी पत्ता लगाउन नसक्नुले सरकारको लाचारीपन मात्र होइन विश्वसनीयता समेत गुमेको बताएको छ । सुशासन मुखले बोलेर कायम हुने विषय होइन, व्यवहारबाट देखिने विषय हो भन्दै समाजले प्रश्न गरेको छ, महँगी, कालोबजारी, कमिसन, भ्रष्टाचार एवं बिचौलिया नियन्त्रणमा पूर्ण रूपमा असफल सरकारबाट सुशासन कसरी सम्भव हुन् ? समाजले यो सरकारका पालामा चिनीकाण्ड, सुनकाण्ड, वाइडबडी विमानकाण्ड, सरकारी जग्गाकाण्ड जस्ता काण्डहरूको बढिरहेकोले अब सुशासनको आशा गर्ने ठाँउ नरहेको बताएो छ ।

समाजले वर्तमान सरकार संवैधानिक रूपमा व इतिहासमै सबैभन्दा शक्तिशाली भएको बताउदै यो शक्ति सुशासन र समृद्धिको दिशामा लगाउनुपर्नेमा अधिनायकवादतर्फ जाने दुस्प्रयासमा खेर गएको बताएको छ । सरकारले भर्खरै संसदमा पेश गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल सरकारको सट्टा मेरो सरकार भन्ने उल्लेख हुनु र प्रदेश तथा स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएबाट संघीयता कमजोर बनाउन दुःचेष्टा गरिएको देखिएको बताएको छ । उक्त नीति तथा कार्यक्रममाथि सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय अभिलेखबाट मेटाउनु पर्ने गरि प्रधानमन्त्रीले व्यक्त गरेको असंसदीय, आक्रोशपूर्ण एवं अमर्यादित अभिव्यक्ति सरकार संसदलाई समेत अनादर गरेर चल्न खोजेको प्रतित भएको पनि समाजले उल्लेख गरेको छ ।

समाजले सरकारले दुई तिहाईको प्रचण्ड बहुमतलाई आफू अनुकूलका तर संविधानको भावना विपरितका ऐन कानून बनाउन दुरुपयोग गरिरहेको पनि आरोप लगाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको संशोधन विधेयक होस् वा राष्ट्रिय सुरक्षा परिषद् विधेयक होस् वा मिडीया काउन्सिलसहित सञ्चारसँग जोडिएका विभिन्न विधेयकहरु नै किन नहुन्, सबैमा सरकार नियन्त्रणमुखी बनेर आएको समाजको ठहर छ ।

समाजले सरकार सत्ताको आलोचना गर्नुहुन्न भन्ने मानसिकताले उ ग्रस्त भएको उल्लेख गर्दै भनेको छ, आफ्नो आदेश नमान्नेहरुलाई विभिन्न ऐनको फन्दामा पारेर ठिंगु¥याउने चाहना उसको देखिन्छ ।

समाजले देशको राजनीतिक, सामाजिक एवं आर्थिक स्थिति सन्तोषजनक नभएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको संस्थागत विकासका लागि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिनुको विकल्प नभएको बताएको छ ।

समाजले राष्ट्रियताको संरक्षण, राष्ट्रिय एकताको संवद्र्धन, राष्ट्रिय स्वाभिमानको अभिवृद्धि तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, संवद्र्धन र सुदृढीकरणमा एकताबद्ध हुन सबै नेपालीलाई आह्वान गरेको छ ।

राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता तथा बहुलवाद, संसदीय लोकतन्त्र, न्यायिक सर्वोच्चता, आवधिक निर्वाचन, प्रेसस्वतन्त्रता, मानवाधिकार जस्ता लोकतान्त्रिक मूल्यहरूलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजको निर्माण गर्ने र लोकतन्त्रको सस्थागत विकास गर्ने उद्देश्यले २०५२ सालमा प्रजातान्त्रिक विचार समाजको स्थापना भएको हो ।

मानव अधिकार, बहुुदलीय प्रजातन्त्र, कानूनी राज्य तथा संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा त्रियाशील हुन, राष्ट्रियताको संरक्षण, राष्ट्रिय एकताको सम्बर्धन र राष्ट्रिय सम्मानको निरन्तर अभिवृद्धि गराउने र प्रजातान्त्रिक संस्कृतिको विकासमा सहयोग पुु¥याउने प्रमुख उद्देश्य लिई प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न बौद्धिक पेशामा संलग्न व्यक्तित्वहरुद्धारा स्थापित प्रजातान्त्रिक विचार समाज  प्रजातन्त्रका आधारभूूत स्तम्भहरुलाई संरक्षण, सम्बद्र्धन र सुदृढीकरणको निमित्त निरन्तर रुपमा क्रियाशिल संस्था हो ।

समाजको ११ औं राष्टिय महाधिवेशन यही जेठ ३ गते बसुन्धराको दियालो पार्टी प्यालेसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा हुनेछ ।

Share Now

Leave a comment.