लाहोर(पाकिस्तान),१ साउन (बीबीसी) । पाकिस्तानमा अधिकारीहरूले हाफिज सइदलाई गिरफ्तार गरेका छन्।
अमेरिका र भारतले सइदलाई सन् २००८ को मुम्बई हमला गराउने सङ्गठनको नाइके मान्छन्।
पाकिस्तान सरकारका एक प्रवक्ताले सइदलाई प्रतिबन्धित सङ्गठनका निम्ति कोष जम्मा गरेको अभियोगमा हिरासतमा लिइएको जनाएका छन्।
कसरी परे पक्राउ?
सइदले सन् १९९० को दशकमा पाकिस्तानमा अवस्थित लस्कर-ए-तइबा सङ्गठन स्थापना गरेका थिए।
उनी पाकिस्तानमा खुला रूपमै बस्दै आएका छन्।
तर मुम्बई हमलापश्चात् भने बेलाबखत उनी नजरबन्दमा राखिए।

भारतले हाफिज सइदलाई सन् २००८ मा मुम्बईमा गरिएको हमलाको योजनाकार मान्छ
मुम्बई हमलामा १६० मानिस मारिएका थिए।
सइद उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गर्ने गर्छन्।
सइदलाई पाकिस्तानको लाहोर शहरमा गिरफ्तार गरिएको छ।
उनलाई लाहोरको कोट लखपत जेलमा पठाइएको छ। अधिकारीहरूका अनुसार उनलाई ३० दिनपछि अदालतमा पेश गरिनेछ।
किन अहिले गिरफ्तार भए सइद?
गत वर्ष अन्तर्राष्ट्रिय वित्तीय अनुगमन निकायले पाकिस्तानलाई ‘ग्रे लिस्ट’ भनिने चर्को निगरानीमा राखेको थियो।
आतंकवादमा वित्तीय लगानी नियन्त्रणका निम्ति पर्याप्त कदम नचालेको कारण पाकिस्तान त्यस्तो निगरानीमा परेको हो।
निगरानीमा परेपछि पाकिस्तानको सरकार विद्रोही समूहहरूको वित्तीय लगानीमा लगाम कस्न थप दबाबमा परेको थियो।
यसबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्न जान लागेका छन्।
सइदको पक्राउलाई उक्त भेटभन्दा पहिले बनाइएको भूमिकाको रूपमा पनि हेरिएको छ।


















