Prakash Adhikari August 9, 2019

काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी महिना ओमानमा हुने ५ टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाललाई सो प्रतियोगितामा सहभागी हुन आईसीसीले अनुमति दिएको छ । नेपाल क्रिकेट संघ निलम्बनमा रहेकोले क्रिकेटसम्बन्धी विषय आईसीसीले सिधै हेर्दै आएको छ । प्रतियोगितामा सहभागी हुन ओमान क्रिकेटले नेपाललाई १ महिना अगाडीनै निम्तो पठाएको थियो।

आगामी असोज १८ देखि २३ (अक्टोबर ५ देखि १० ) सम्म सञ्चालन हुने समयतालिका निर्धारण भैसकेको प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित, हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

प्रतियोगिताका सहभागीहरु मध्ये नेपाल बाहेकका अन्य ४ टिम अक्टोबर ११ देखि युएईमा आयोजना हुने टी २० विश्वकप छनौट खेल्दैछन्। सिंगापुरमा आयोजित टी २० विश्वकप छनौट (एसिया फाइनल ) प्रतियोगितामा आयोजक सिंगापुरसंग पराजित भएपछि नेपालको २०२० टी २० विश्वकप यात्रा टुंगिएको थियो ।

निर्धारित खेल तालिका अनुसार नेपालले प्रतियोगिता अन्तर्गत अक्टोबर ६ तारिकमा हंगकंगसंग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ७ मा नेदरल्याण्डसंग दोश्रो खेल, अक्टोबर ९ मा आयरल्याण्डसंग तेश्रो खेल तथा अक्टोबर १० मा आयोजक ओमानसंग चौथो खेल खेल्नेछ। सबै खेलहरु ओसी टर्फ मैदानमा खेलिने छ।

नेपालको खेल हिन्दुहरुको महान चाड दशैंमा परेको छ।

टी २० अन्तर्राष्ट्रिय वरियतामा नेपाल ११ औं स्थानमा रहेको छ। नेदरल्याण्ड १३ औं, ओमान १८ औं स्थानमा रहेको छ। आयरल्याण्ड १५ औं, हंगकंग १९ औं स्थानमा रहेको छ।

२०१८ डिसेम्बरको अन्त्यमा आईसीसी टी २० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड सिधै टी २० विश्वकप ग्लोबल छनौट खेल्न छानिएका हुन्।

अहिले नेपाल आईसीसीको टी २० बरियताको ११ स्थानमा रहेको छ । ११ औं स्थानमा पुगेको नेपाल खेलमा सहभागी हुन नपाउनु आफूभन्दा पछाडि रहेका राष्टहरुको सीट सुरक्षित हुनु एक विडम्बना हुन पुगेको छ ।

युएईले यस अघि नेपालसंगै एसिया फाइनल खेल्नु परेता पनि पछि आईसीसीले ग्लोबल छनौट आयोजकको भूमिका दिंदा आयोजकको रुपमा स्वतः छनौट भएको थियो।

नेपालले सन् २०१२, २०१३ र २०१५ मा टी २० विश्वकप छनौट खेलेको थियो।

Share Now

Leave a comment.