Prakash Adhikari September 29, 2019

पोखरा(कास्की),१२ असोज । एनएमबी बैंक लि. र ओम डेभलपमेन्ट बैंक एकापासमा गाभिएर एकीकृत कारोबार शुरू भएको छ ।

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलले वाचन गर्नुभएको थियो ।

दुबै संस्था गाभिएपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ ।

एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका हन् ।
एनएमबी र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबीको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।

एनएमबी र ओमबीच १००ः७६ को शेयर अनुपात अनुपातमा मर्ज सम्पन्न भएको हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबीको ७६ कित्ता सेयर पाएका छन्।

मर्ज पश्चात बैंकको नाम एनएमबी बैंक लि. रहेको छ भने मुख्य कार्यालय एनएमबी भवन, बबरमहल, काठमाडौं रहको छ । दुबै संस्था गाभिए पश्चातको एनएमबी बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरी कुल शाखा सञ्जाल १ सय ६३, एटीएमहरुको सञ्जाल १ सय २८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

यस एनएमबी बैंकमा कर्मचारी संचय कोष, Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V., लगायतका संस्थाहरुको समेत लगानी रहेको छ ।एफएमओ सँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिमव्यवस्थापन गर्न तथा नवीकरणीय उर्जा, साना तथा मझौला व्यवसाय र कृषि उद्यममा अग्रता हासिल गर्न सफल भएको छ ।

बैंकले सन् २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको सम्मान प्राप्त गर्न सफल भएको छ ।

Share Now

Leave a comment.