सिंगापुरसिटी(सिंगापुर),१३ असोज । सिंगापुरमा भैरहेको नेपाल,सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक श्रृखला अन्तर्गतको तेश्रो खेलमा आयोजक सिंगापुरले टेष्ट राष्ट्रको मान्यता प्राप्त जिम्बाब्वेलाई ४ रनले पराजित गरेको छ।
इण्डियन एसोसिएसन मैदानमा आइतबार भएको खेल वर्षाका कारण १८ ओभरमा घटाइएको थियो । निर्धारित १८ ओभरमा सिंगापुरले १ सय ८१ रन जोडेर जिम्बाबेसामु १ सय ८२ रनको चुनौती प्रस्तुत गरेको थियो । जिम्बाब्वेले निर्धारित १८ ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो र ४ रनले पराजित हुन पुग्यो।

आइतबारको खेल जिम्बाबे जितको नजिक पुगिसकेको थियो । उसले १३.२ ओभरमा १ सय ४२ रन जोड्दै २ विकेट मात्र गुमाएको थियो । तर त्यसपछि लगातार ३ विकेट गुमाउदा १६.१ ओभरमा १ सय ६५ रन बनाउदा उसको ५ विकेट गुम्यो र उपल्लो स्तरका ब्याट्सम्यानहरु बाहिरिए । त्यसपछि सिंगापुर खेलमा हावी भयो।
अन्तिम २ ओभरमा जितको लागि १७ रन आवश्यक हुँदा १७ औं ओभर बलिंग गरेका जनक प्रकाशले मात्र ७ रन खर्चेर २ विकेट लिएका थिए।
त्यसपछि अन्तिम ओभरमा आवस्यक १० रन जिम्बाब्वे बनाउन असफल रह्यो। अन्तिम ओभरमा सिद्धान्त सिंहले पहिलो बल डट गरेका थिए भने दोश्रो बलमा १ रन, तेश्रो बलमा २ रन तथा चौथो बलमा १ रन दिएका थिए। अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा जिम्बाब्वे ब्याट्सम्यान मरुमा रन आउट हुन पुगेका थिए। त्यसपछि अन्तिम बलमा ६ रन आवस्यक रहंदा टोनी मुन्योंगाले छक्का हान्न सकेनन् । १ रन मात्र बनाए । फलस्वरुप जिम्बाबे ४ रनले पराजित हुन पुग्यो ।
सिंगापुरको बलिंगमा अमजद मेहबुब २ जनक प्रकाशले ले २/२ विकेट लिए।एक विकेट रन आउटबाट आयो ।

जिम्बाब्वेको लागि कप्तान सन विलियम्सले सर्वाधिक ६६, ओपनर रेगिस चकाभाले ४८ र टिनोटेण्डाले ३२ रन बनाए।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको सिंगापुरले घरेलु मैदानमा निर्धारित १८ ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।
टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा सिंगापुरले बनाएको यो तेश्रो ठूलो योगफल हो। नेपालबिरुद्ध यसै वर्ष टि २० विश्वकप छनौट प्रतियोगितामा सिंगापुरले सबैभन्दा धेरै १सय ९१ रनको योगफल बनाएको थियो।
सिंगापुरको लागि कप्तान टिम डेभिड र मनप्रित सिंहले समान ४१ रन बनाए। यस्तै ओपनर रोहन रंगराजन३९ रन बनाए।
जिम्बाब्वेको बलिंगमा रायन बर्लले सर्वाधिक ३ विकेट लिए। यस्तै रिचर्ड नगर्भाले २ तथा नेभिल्ले माडजिभा र सिङ विलियम्सले १।१ विकेट लिए।
सिरिज अन्तर्गत ३ खेल सम्पन्न हुँदा सिंगापुर, नेपाल र जिम्बाब्वेले एक एक खेल जितेका छन्।
पहिलो खेलमा नेपाललाई जिम्बाब्वेले ५ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।सिरिज अन्तर्गत चौथो खेल भोलि नेपाल र जिम्बाबे बीच हुँदैछ। जिम्बाबेलाई सिंगापुरले पराजित गरेको र नेपालले सिंगापुरलाई ठूलो अन्तरले पराजित गरेको अवस्थामा नेपाली खेलाडीले उच्च मनोबल साथ खेलेमा सोमबारको खेलमा नेपालले जिम्बाबेलाई पराजित गर्न सक्ने देखिन्छ । नेपालका क्रिकेटप्रेमीहरु कप्तान पारस खड्काको नेतृत्वमा आफ्नो टीमले टेष्ट राष्ट जिम्बाबेलाई पराजित गरेको हेर्न आतुर छन् । परिणाम के होला भरे साँझ अधैर्यसाथ खेल हेर्न पर्ने हुन्छ ।
आइतबारको खेलमा सिंगापुरले धैर्यतासाथ गरेको बलिड.ले क्रिकेट रोमाञ्चक र संभावनाको खेल हो भन्ने प्रमाणित गरेको छ । मैदानमा टिक्न सके अन्तिम समयमा नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ । महत्वपूर्ण कुरा मैदानमा टिक्नु नै हो ।


















