काठमाडौँ, २२ कार्तिक । नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको एतिहासिक मेरिलेबोन क्रिकेट क्लबले तीन दिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ ।
बुधबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम दिनको खेलसम्म मेरिलिबोनले ३ सय ९२ रन बनाएको थियो । ३ सय ९३ रनको लक्ष्य लिएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।
चौध वर्षपछि मान्यता प्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए । पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप दोस्रो इनिड.मा २५ रनमा एलबीडब्लु परेका थिए ।
आजको खेलमा नेपालको ब्याटिड.जम्न सकेन । कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९, करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाएका थिए भने दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् ।
नेपालबाट ६ खेलाडी एलबीडब्लु आउट भएका थिए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए ।
यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको थियो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।
एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए ।
खेलमा टस जितेर नेपालले पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको एमसीसीले पहिलो इनिंगमा ३ सय ६४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।
पहिलो इनिंगमा नेपालले १ सय ५३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो।
पहिलो इनिंगमा २ सय ११ रनको अग्रता पछि ब्याटिंग गरेको एमसीसीले दोश्रो इनिंग १८१। ६ मा समाप्तिको घोषणा गरेको थियो।


















