काठमाडौं, २९ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गर्नुभयो ।
उहाँको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए। उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।
उहाँको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फर्हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए ।
नेपाल भ्रमणका क्रममा वंगालादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उहाँले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो ।
भ्रमणका क्रममा बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वंगलादेशका महामहिम राष्ट्रपति हमिदसंग शिष्टाचार भेट गर्नुभएको थियो ।
नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।


















