Prakash Adhikari November 19, 2019

थिम्पु(भुटान), ३ मंसिर । फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको होम म्याचमा १-० गोलअन्तरको पराजय ब्यहोरेको छ ।

यो हारले विश्वकपको तेस्रो चरण तथा एसियन कपमा छनोटको सम्भावना न्यून बन्दै गएको छ तर समाप्त भएको छैन् । बाँकी खेलहरुमा अपेक्षित विजयले नेपालको आगामी भविष्य तय गर्ने छ ।

भुटानको चाङलिमिन्थाङ रंगशालामा पहिलो हाफको २८ औं मिनेटमा कुवेती कप्तान बादर अल अल्मोतोबाले बक्स बाहिरबाट शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल ३ अंकका लागि निर्णायक बन्यो ।

यसअघि गएको भदौमा कुवेतमा खेलिएको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको संघारमा खेलकालागि तयार पारिएको स्क्वाडबाट ४ जना अब्बल दर्जाका खेलाडीलाई कारबाही गरी प्रतियोगिताबाट बिमुख गराउदाको परिणामको रुपमा पनि मंगलबारको नतिजालाई लिइएको छ ।

ती खेलाडीहरु मैदानमा रहन पाएको भए परिणाम नेपालको पक्षमा आउने संभावना पहिले ७ गोलको अन्तर निकालेको कुवेतले १ गोल गर्नुले पनि पुष्टि गर्दछ । भुटानको चिसो हावापानी कुवेत जस्तो गर्मी मुलकको लागि हैन, नेपालजस्तो हिमाली मुलुकको लागि अनुकूल रहेको थियो ।

छनोट प्रतियोगिताको समूह बी बाट नेपालले ५ खेलमा एक खेलमा मात्र जित निकालेको छ । चाइनिज ताइपेइबिरुद्धको अवे खेल नेपालले २–० ले जितेको थियो । त्यसयता सबै खेलमा पराजित भएको छ ।

यो नतिजापछि ५ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा यथावत छ भने १० अंकका साथ कुवेत दोस्रो स्थानमा छ । हारका बावजुद नेपालको एएफसी एसियन कप छनौट वा प्ले अफ खेल्ने सम्भावना कायम छ ।

नेपालले अब ३ वटा होम म्याच खेल्न बाँकी छ । त्यसमध्ये पहिलो खेल आगामी बर्ष (२०२०) को मार्च २६ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्नेछ भने ३१ मार्चका दिन अष्ट्रेलियासँग तथा ४ जुनका दिन जोर्डनसँग अन्तिम खेल खेल्नेछ ।

पुनर्निर्माणको चरणमा रहेको दशरथ रंगशालामा खेल गर्न एसियाली फुटबल महासंघले स्वीकृति नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाको प्रस्तावमा कुवेतसँगको होम म्याच भुटानमा खेलाइएको हो ।

बाँकी म्याचहरु भने दशरथ रंगशालामा नै खेल्न संभव छ । घरेलु भैदान र दर्शकको लाभ हुने भएकोले ती खेलहरुमा नेपालको विजय हुने आशा जीवितै छ ।

Share Now

Leave a comment.