काठमाडौं,१७ मंसिर । सबै नेपालीले नजर लगाएको नेपाली राष्ट्रिय महिला भलिबल टोली अन्तिम खेलका ४ सर्भिस बिग्रदा स्वर्ण पदक हासिल गर्नबाट चुकेको छ ।
खेलको चौथो सेट आफ्नो पोल्टामा परिसकेको अवस्थामा पनि अंकमा थप्न नसक्दा नतिजा भारतको पक्षमा पुगेको हो ।
नेपाली महिला भलिबल टीमका प्रशिक्षक जगदीश भट्टले १९ १७ अंकको अवस्थामा पुगेर पनि चारवटा सर्भिस मिस हुनु र दुईवटा सहज बललाई सदुपयोग गर्न नसकेकोले खेलमा पराजय ब्यहोर्नुपरेको बताए ।

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सागमा स्वर्ण पदक दिलाउन नसकेको दुःख लागेको बताइन्।
मंगलबारको फाइनल खेलको पहिलो सेट भारत २५-१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५ -२४ र तेस्रो सेट २५ -२१ ले जित निकाल्न सफल भयो ।
प्रतिस्पर्धात्मक चौथो सेट भने भारतले २५ -२०ले जित्यो ।
अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो ।
अन्तिम सेटमा नेपालले १५- ६ को हार व्यहोर्यो ।उपविजेता बन्दै रजतमा चित्त बुझाउन पर्यो ।
सागमा नेपालले महिला भलिबलमा हासिल गरेका यो सबैभन्दा ठूलो उपलब्धि हो हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।
स्वर्ण गुमाएपछि भावुक भएका चेलीहरुलाई भलिबल कोर्टमा उपस्थित दर्शक र विशिष्ठ अतिथिहरुले सम्झाएका थिए। त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाली चेलीहरुको टोली ३ २ को सेटमा भारतसँग पराजित भएको हो।


















