काठमाण्डौ,२४ मंसिर । बिना व्यवधान नेपालमा भव्यतापूर्वक सम्पन्न भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) बिशेष कार्यक्रमका बीचमा मंगलबार समापन हुंदैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराउनुभएको छ ।
सोमबार सांझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव सिलवालका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबिच फुटबलको फाईनल हुनेछ ।
त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुनेछ । फुटबल प्रतियोगिताको फाईनल लगत्तै समापन समारोह शुरु हुनेछ ।
डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्नुहुने कार्यक्रम छ बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुंदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नुहुनेछ ।
समापन समारोहको प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख रहनुहुने छ । समापन समारोहलाई उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्य सचिब रमेश सिलबालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।
त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी गराउनुभयो ।
सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ ।
समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा बर्गीकरण गरी ब्यबस्थित गरिनेछ । त्यहां भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, बिदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।
समापनकै दिन फुटवल प्रतियोगिताको फाईनल भएकाले फुटवल हेर्नका लागि रु २ हजार र रु १ हजार दरका टिकटको ब्यबस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ ।
उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् ।
समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिनेछ । अत्याबश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रबेश परिचपयपत्रसंगै आआफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ ।


















