Prakash Adhikari February 12, 2020

काठमाडौं,२९ माघ (बीबीसी) । मलेशियाले पाकिस्तानबाट एक लाखभन्दा बढी सुरक्षागार्ड ल्याउने उद्देश्यले वार्ता गरिरहेको समाचार सार्वजनिक भएसँगै मलेशियामा नेपाली नागरिकले पाउँदै आएको रोजगारीको अवसर प्रभावित हुन सक्ने चिन्ता नेपालमा देखिएको छ।

केही विज्ञहरूले ती दुई देशबीच त्यस्तो सहमति भए नेपाली श्रम बजार प्रभावित हुने आशङ्का व्यक्त गरेका छन्।

मलेशियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेशनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको लाभ पाकिस्तानले उठाउने बताएकी हुन्।

तर बीबीसी न्यूज नेपालीसँग नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले त्यस्तो परिवर्तनका सम्भावनाबारे आफू अवगत नभएको बताए।

व्यवसायीहरू अहिलेसम्म नेपाली सुरक्षागार्डका कोटामा कुनै असर नपरेको बताउँछन्।

मलेशियालाई नेपाली कामदारहरूका लागि वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य मानिन्छ।

मलेशिया के चाहन्छ?

गत डिसेम्बरमा नेपाल आएका मलेशियाको सुरक्षा सङ्गठनका अधिकारीहरूले सुरक्षागार्ड तालिम केन्द्रहरू बनाएर लैजाने बताएको वैदेशिक रोजगार व्यावसायी सङ्घ नेपालका अध्यक्ष विष्णुप्रसाद गैरे बताउँछन्।

गैरे भन्छन्, “त्यसबेला मैले व्यवसायीहरू यस प्रक्रियामा संलग्न हुन पाउनुपर्ने र केन्द्रहरू बनाउँदा सिन्डिकेट सिर्जना हुने बताएको थिएँ।”

“औपचारिक तहमा यसबारे कुरा हुन बाँकी छ।”

नेपालले मलेशियासँग शून्य लागतमा कामदार लैजाने सहमति गरेकाले ‘बीचमा स्वार्थ राख्ने एजेन्टहरूले’ त्यस्तो अवस्थाको सिर्जना गराउन खोजेको हुनसक्ने व्यवसायीहरू बताउँछन्।

पाकिस्तानमा सेना र प्रहरीको अनुभव सँगालेको ठूलो जनशक्ति रहेको बताइन्छ।

मलेशिया पाकिस्तानीहरूका लागि पनि एउटा प्रमुख श्रम गन्तव्य हो।

नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्वप्रहरी मात्र नभएर आधारभूत तालिम मात्र लिने मानिसहरू पनि छन्।

मलेशियाको दृष्टि कता?

नेपालीहरूका लागि १५ महिना रोकिएको मलेशिया रोजगारी सेप्टेम्बरबाट खुले पनि अधिकारी एवम् व्यवसायीहरू त्यसका असरहरू पछिल्ला विकासक्रमसँगै देखिएको स्वीकार्छन्।

श्रम मामिलाका जानकार गणेश गुरुङ भन्छन्, “लामो समय कामदार लैजान रोकिँदा मलेसियालाई विकल्प खोज्न बाध्य पारेको देखिन्छ।”

गुरुङ भन्छन्, “नक्कली प्रमाणपत्र बनाएर जाने नेपाली सुरक्षागार्डको सङ्ख्या बढेपछि गुनासाहरू सुनिन थालेका थिए।”

सेप्टेम्बरमा कामदार पठाउने बाटो खुले पनि केही साता अघिसम्म अधिकांश पुराना स्वीकृतिका नेपालीहरू मात्र गएको व्यावसायीहरू बताउँछन्।

रोजगारदाताहरू नेपालसँगको सम्झौतामा समेटिएका पछिल्लो व्यवस्था र कार्यशैलीले गर्दा विभिन्न संशय मानिरहेको समेत ठान्छन्।

कस्तो छ नेपालीको छाप?

सुरक्षागार्डमा नेपालीहरूको पहिचान मलेशिया, हङ्‍कङ, मकाउ र मध्यपूर्वका थुप्रै देशमा निकै राम्रा मानिने गर्छ।

अझ मलेशियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो युवास्थादेखि नै गोर्खा गार्ड्सका रूपमा नेपालीहरूको राम्रो प्रभाव देखेका हुँदा उनको सद्भाव नेपालीप्रति उच्च रहेको जानकारहरू बताउँछन्।

कम्युनिस्ट उग्रवादीहरूलाई निस्तेज पार्न मलेशियाले पूर्वगोर्खा ब्रिटिश सैनिकलाई प्रयोग गरेकाले त्यसको छाप परेको गुरुङ बताउँछन्।

गुरुङ भन्छन्, “हामीहरू भने इतिहासमा मात्र गर्व गरेर बस्यौँ। पछिल्लो अवस्थाअनुकूल तालिम जोडेर व्यावसायिकता विकास गर्नेतर्फ पर्याप्त ध्यान दिएनौँ।”

अहिलेको अवस्थामा पाकिस्तानीहरूले त्यहाँ पुगेर राम्रो काम गर्न थाले भने नेपाली सुरक्षागार्डले बनाएको पहिचानमा दीर्घकालीन असर पर्ने विज्ञहरूको चिन्ता छ।

Share Now

Leave a comment.