काठमाडौं, ८ जेठ । कोरोना भाइरसको संक्रमणको निदानका लागि गरिएको नमूना परीक्षणमा बिहिबार बिहान थप १७ जनामा यसको घातक भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६ः५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।
संक्रमित व्यक्तिहरु झापाको कचनाकवल गाउँपालिका, धनकुटा र धरानका रहेको बताइएको छ।
यस पूर्व बुधबार थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। सो दिन झन्डै २ हजार ५ सय नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधवार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड-१९ पुष्टि भएको हो।
कोभिड-१९ पुष्टि भएकामध्ये ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
मङ्गलवार नेपालमा २७ जना र अघिल्लो दिन ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अहिले सबै प्रदेशमा कोरोना भाइरसका बिरामी भेटिएको छ।
प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।
अहिले प्रदेश नं ५ मा सर्वाधिक १४,२६२ जना क्वारन्टीनमा छन्।
त्यसपछि प्रदेश नं २ मा ४,१४४, सुदूरपश्चिम प्रदेशमा १,९०९ र प्रदेश नं १ मा १,३०४ जना छन्।
सबैभन्दा कम वाग्मती प्रदेशमा ३५३, गण्डकी प्रदेशमा ४६६ र कर्णाली प्रदेशमा ७६४ जना क्वारन्टीनमा छन्।
अधिकांश सङ्क्रमण सीमावर्ती जिल्लामा देखिएको छ।


















