काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको आज सम्पन्न बैठक शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीलाई दुवै पदबाट राजिनामा गराउने सन्दर्भमा भने दुवै पक्षाका नेताहरु आआफ्नै अडानमा दृढ देखिएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेता माधव नेपालबीच भएको सो बैठकमा सहयोगीका रुपमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुभएको थियो ।
नेकपाका महासचिव पौडेलले आजको छलफल सकारात्मक रहेको र भोलिका लागि निर्धारित स्थायी समितिको बैठक सुचारु गर्न दुवै अध्यक्ष सकारात्मक रहनुभएको जानकारी दिनुभएको छ ।
आज प्रधानमन्त्री ओलीसंग बालुवाटार बैठकमा जानु पहिले कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासमा सचिवालयका बहुमत सदस्यहरुसंग छलफल गर्नुभएको थियो ।
उहाँले प्रधानमन्त्री ओलीको राजिनामाको विषयमा कुनै सहमति हुन नसके स्थायी समितिको बैठक सुचारु गर्न उपयुक्त हुने कि नहुने भन्ने विषयमा सचिवालय सदस्यहरुको राय बुझ्नु भएका थियो ।
सचिवालयका बहुमत सदस्यहरुले पार्टीको संस्थागत विकासको कुरा गर्ने पक्ष भएकोले निर्धारित एजेण्डामा छलफल गर्न आयोजित बैठक लामो समय स्थगित गर्न नहुने बैठकमा बहुमत सदस्यहरुको आवाज सुनेर सहमतिमा नआएमा पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
अब भोलिदेखि प्रधानमन्त्री निवासमा सुचारु हुने स्थायी समितिको बैठकले नै प्रधानमन्त्री ओलीको भाग्यको निर्धारण गर्ने छ ।
गत आषाढ १० गतेबाट सुरु भएको स्थायी समितिको बैठक प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष, अन्य शीर्ष नेता, सचिवालयसंग कुनै परामर्श नै नगरी अकास्मात संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीमा सिफारिस गरेपछि आषाढ १८ गतेदेखि स्थगित हुँदै आएको छ ।
त्यसपूर्र्व आषाढ १४ गते बालुवाटारमा आयोजित मदनभण्डारी जन्मजयन्ती कार्यक्रममा आफूलाई लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नै भारतले हटाउन खोजेको र आफ्नै पार्टीका नेताहरु भारतीय एजेण्ट जसरी प्रस्तुत भएको गम्भीर आरोप लगाउनुभएको थियो ।
गत बैशाख ८ गते राजनीतिक दल विभाजन गर्न सहज बनाउने र संवैधानिक परिषद्ले प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै आफ्नो काम गर्न सक्ने दुई अध्यादश ल्याएपछि पार्टीभित्र चर्को विरोध सामना गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले त्यसबेला सचिवालयले निर्धारण गरेका स्थायी समितिको बैठक पटक पटक स्थगत गरी आफ्नो पदको बचाउ गर्नुभएको थियो ।
स्थायी समितिको सामना नगरी अध्यादेश फिर्ता लिएपछि संसदको बजेट अधिवेशन बोलाएर स्थायी समिति टार्दै आउनुभएका ओलीले बजेट पारित भएपछि स्थायी समितिको बैठक बोलाउन अनुमति दिनुभएको थियो ।
स्थायी समितिको उद्घाटन मन्तब्यमा नै दुई अध्यक्षबीच घोचपेच र राजिनामाका विषयमा कुरा उठेपछि दोस्रो बैठक देखि बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजिनामाको कुरा उठाएका थिए ।
स्थायी समितिमा आफूलाई पेल्न थालेपछि प्रधानमन्त्री ओलीले आषाढ १४ गते आयोजित कार्यक्रममा आफ्नो राजिनामा माग्ने आफ्नै पार्टीका सबै नेताहरुलाई भारतीय दलालको उपाधी दिनुभएको थियो ।
आषाढ १८ मा पार्टीका कार्यकारी अध्यक्ष, शीर्ष नेताहरु,पार्टी सचिवालय र चलिरहेको स्थायी समितिको बैठक तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष कसैलाई सुँइको समेत नदिइकन बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि दुई अध्यक्षबीच सहमति कायम गरेर आषाढ २० गतेदेखि सुचारु गर्ने गरी स्थगित भएको स्थायी समितिको बैठक दुई अध्यक्षबीच सहमति नभएपछि पटकपटक स्थगित हुँदै आएको छ ।
त्यस यता प्रधानमन्त्री तथा के.पी. शर्मा ओलीले आफ्नो पार्टीका भातृ संगठनहरुलाई परिचालन गरी देशव्यापी रुपमा आफ्नो समर्थनमा मुख्य शहरहरुमा शक्ति प्रदर्शन गर्नुभएको छ । र ती प्रदर्शनहरुमा प्रधानमन्त्री ओली बाहेकका उहाँको राजिनामा माग्ने नेताहरुलाई विदेशी दलालको संज्ञा दिइएको छ ।