काठमाडौं, ९ माघ । पछिल्ला तीन कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेपालको शेयर बजार बुधबार उच्च अंक बढेर बन्द भएको छ।
बुधबार धितोपत्र बजार परिसूचक ५२.३६ अंक बढेर २६६५.४५ विन्दुमा पुगेको छ।
यस दिन कारोबारको आकार पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय २२ स्टकको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्रीबाट ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।
कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने भने हिमालयन रि इन्स्योरेन्सको करिब ३२ करोडको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४।२४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।