Prakash Adhikari November 17, 2026

काठमाडौं, १ मंसिर । भदौ १० गतेको बाढीले पर्यटकीय पूर्वाधार सडक, पुल र बस्ने होटलहरु भएका नदी किनाराका बजारहरु सखाप पारेपछि सुस्ताएको रसुवाको पर्यटन क्षेत्रले गति लिन थालेको अधिकारीहरूले बताएका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखले विदेशी पर्यटकको सङ्ख्यामा त्यति कमी नदेखिए पनि नेपालीहरू विगतको तुलनामा कम आएको बताउनुभएको छ।

“दशैँ र तिहारको बीचमा पर्यटकहरू अलि बढेको देखिन्छ। पर्यटकहरू धेरै बढे भन्दा पनि रिभाइभ हुन थालेका छन्”, निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “विदेशी पर्यटक अलि धेरै हुनुहुन्छ, नेपाली पर्यटकचाहिँ अलि कम नै हुनुहुन्छ। बाढीको त्रास मानिसमा अझै पनि छ जस्तो छ।”

विगतका वर्षहरूमा नेपालीहरूले पदयात्रा राम्रै सङ्ख्यामा गर्ने गरेको र बाढीपछि त्यसमा केही कमी आएको उहाँले बताउनुभएको हो ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपालले भने पदयात्रा भनेको ुएड्भेन्चरु मनपराउनेहरूका लागि भएका कारण पर्यटनमा त्यति लामो समय असर नपर्ने जनाएको छ।

निकुञ्जका सूचना अधिकारी ऋषिराम ढकालका अनुसार भदौ १० भित्र जति पर्यटक आए त्यसपछि उक्त महिनाको अवधिमा भने नगण्य सङ्ख्यामा आए।

असोज महिनामा त्यहाँ ८ सय ९५ जना जम्मा पर्यटक निकुञ्ज भित्रिएको उहाँले बताउनुभयो ।

कात्तिक महिनामा भने नेपालीहरू २ हजार ९ सय ९३ जना, सार्क राष्ट्रका २२ जना र अन्य विदेशीहरू १ हजार ३ सय ८५ जना आएको निकुञ्जले जनाएको छ।

सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटकहरू धेरै जाने उक्त क्षेत्रमा सेप्टेम्बरमा थोरै देखिए पनि दशैँ तिहारको बीच(कात्तिक)मा सङ्ख्या धेरै देखिएको अधिकारीहरूले बताएका छन्।

रूटहरूको अवस्था

लाङटाङ पदयात्रा र गोसाइँकुण्ड पदयात्राका लागि धुञ्चे हुँदै जाने पर्यटकका लागि भदौ १० को भीषण बाढीले थुप्रै बाटोहरूमा क्षति पुर्‍याएको थियो र अहिले केही अस्थायी कनेक्टिङ बाटो भएपछि पुरानै रूटबाट मानिसहरू गइरहेको अधिकारीहरूले बताएका छन्।

कतिपय पर्यटकहरू विगतकै रूटहरू हुँदै पदयात्रा गरिरहेको त कतिपय पर्यटकहरू वैकल्पिक र कम प्रयोगमा आएका बाटोहरूमार्फत् पनि पदयात्रा गरिरहेको उनीहरूले बताएका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्रेष्ठका अनुसार भदौ १० को बाढीले खासगरी सानो स्याफ्रुबेसीको बाटो र त्यहाँका होटेल सबै बगाएपछि अहिले पर्यटकहरू विगतमा धेरै प्रयोग हुने ठूलो स्याफ्रूबेसी हुँदै लाङटाङ पदयात्रामा गइरहेका छन्।

“धुन्चे जाने बेत्रावतीमा बेलिब्रिज राखिसकेपछि धुन्चेसँगको कनेक्सन भएपछि लाङटाङ जाने पर्यटकहरू धुन्चेबाट ठूलो स्याफ्रू हुँदै जाने क्रम बढ्न थालेको छ”, श्रेष्ठले भन्नुभयो,”धुन्चेबाट नै गोसाइँकुण्ड जानेहरू पनि बढेका छन्। त्यस्तै सिन्धुपाल्चोक कुटुमसाँगु तर्फबाट गोसाइँकुण्ड जाने पर्यटकहरू पनि छन्।”

रसुवागढी नाका जाने बाटोमा पर्ने स्याफ्रू(सानो)मा धेरै क्षति पुगेको र अहिले पनि आंशिक रूपमा मात्रै यात्रा गर्न मिल्ने अधिकारीहरूले बताएका छन्।

उक्त बाटोमा क्षति नपुगेको अवस्थामा पछिल्ला वर्षहरूमा धेरै पर्यटकहरू यही बाटो हुँदै लाङटाङ पदयात्रा जाने गर्थे। यो बाटो तुलात्मक रूपमा ठूलो स्याफ्रूबाट जान भन्दा छोटो र सजिलो रहेको पदयात्रीहरू बताउँछन्।

तर अहिले बाढीपछिको अवस्थामा पर्यटकहरू धुन्चेबाट पुरानो पदयात्रा गर्ने रूट ठूलो स्याफ्रू हुँदै लाङटाङ भ्याली जाने गरेको श्रेष्ठले बताउनुभएको छ।

“ठूलो स्याफ्रूसम्म सानो गाडी नै जान्छ। त्यहाँबाट पदयात्रा सुरु हुन्छ”, उहाँले भन्नुभयो,”तर सानो स्याफ्रूबाट पनि जान मिल्ने चाहिँ छ। पहिलाजस्तो फराकिलो बाटो मात्रै नभएको हो।”

त्यस्तै गोसाइँकुण्ड जानका लागि विगतमा प्रयोग हुँदै आएकै बाटोहरूबाट मानिसहरूले पदयात्रा गरिरहेको अधिकारीहरूले बताएका छन्।

“धुन्चेबाट देउरालीरचन्दनबारी हुँदै जाने वा ठूलो स्याफ्रू हुँदै जाने वा सिन्धुपाल्चोकको कुटुमसाँगु वा सुन्दरीजल हुँदै गोसाइँकुण्ड जाने यथावत रूट छँदै नै छ”, श्रेष्ठले बताउनुभयो।

केही समय लागे पनि यो क्षेत्रको पर्यटक बिस्तारै उठ्ने र भविष्यमा मानिसहरूको सङ्ख्या बढ्दै जाने आफूले ठानेको उहाँले बताउनुभयो।

एड्भेन्चर मनपराउनेलाई असर गर्दैन

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकका लागि कात्तिक महिनामा पर्यटक धेरै आउने गरेको तर गत वर्षको तुलनामा भने यो वर्ष कम आएको निकुञ्जले जनाएको छ।

कात्तिक महिनामा खासगरी लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा करिब ४ हजार ४ सय पर्यटकले पदयात्रा गरेको निकुञ्जका सूचना अधिकारी ढकालले बताउनुभयो।

जबकि गत वर्षको कात्तिक महिनामा १० हजारभन्दा बढी पर्यटक थिए। तीमध्ये गत वर्ष करिब ७ हजार ५ सय जना नेपाली र बाँकी विदेशी रहेका थिए। यो वर्ष भने नेपालीको सङ्ख्यामा उल्लेख्य कमी आएको बताइन्छ।

निकुञ्जभित्रको तथ्याङ्कमा सिन्धुपाल्चोकको पाँचपोखरी जाने पर्यटक पनि समावेश हुने भए पनि त्यो सङ्ख्या कम रहेको अधिकारीहरूले बताएका हुन्।

लाङटाङ पर्यटकीय रूपमा जाने क्षेत्र भए पनि गोसाइँकुण्ड भने धेरै नेपालीहरू जनैपूर्णिमालगायतका चाडमा धार्मिक कारणले पनि ठूलो सङ्ख्यामा जाने गर्छन्।

गत वर्षको तुलनामा पर्यटकीय मौसममा पर्यटकको सङ्ख्या कम भए पनि विनाशकारी बाढीपछिको समयमा यो सङ्ख्या राम्रो नै रहेको यो क्षेत्रका जानकारहरू बताउँछन्।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाका अनुसार पदयात्रा साहसिक यात्रा गर्न रुचाउनेका लागि भएका कारण सोचे जति पर्यटक घटेका छैनन्।

“सोचेजस्तो ठूलो असर होइन। बाढीआएलगत्तै केही पर्यटकले आफ्नो यात्रा रद्द गरे पनि त्यतिधेरै असर गरेको होइन। लाङटाङ जाने बाटोमा स्थानीयले वैकल्पिक बाटो बनाएका कारण पनि मानिसहरू पुनः जान थालेका हुन्”, उहाँले भन्नुभयो।

“यस्तो यात्रा गर्ने मानिसहरूलाई त्यो ठाउँमा के भएको रहेछ भन्ने पनि जिज्ञाशा हुन्छ। एड्भेन्चर रुचाउने पर्यटकहरू पनि जान खोज्छन्।”

भोटेकोशी-त्रिशूली बाढीमात्रै नभई त्यसता बुढीगण्डी र कालीगण्डकीमा आएको बाढीले पनि ती क्षेत्रका पर्यटनलाई त्यति असर नगरेको उहाँले बताउनुभयो।

Share Now