Prakash Adhikari November 17, 2026

काठमाडौं, १ मंसिर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९० औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ।

बैंकको केन्द्रीय कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्यता अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले गर्नुभएको थियो भने अध्यक्षता बैंकका अध्यक्ष बद्रि खनालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।

वि.स.१९९४ साल कातिक ३० गते स्थापना भई सञ्चालनमा आए‌को नेपाल लिमिटेड मिति २०८३ कार्तिक ३० मा ८९ बर्ष पूरा गरी ९०औं वर्ष प्रवेश गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बैंकको डिजिटल कर्जा  ‘बाई नाऊ पे ल्याटर(Buy Now, Pay Later,BNPL)’ क्रेडिटकार्ड तथा ‘अनलाइन लोन एप्लिकेशन पोर्टल’ को शुभारम्भ गर्नुभएको थियो । उहाँले बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै उत्पादन तथा उद्यमशिलता प्रबर्धन गर्न उत्पादनशिल क्षेत्रहरु कृषि, जलविद्युत,पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग ,साना तथा मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी उत्पादन तथा उद्यमशिलता प्रबर्धन गर्न बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत जनविश्वास कायम गर्दै व्यवसायिक कार्य सम्पादनमा उच्च मापदण्ड कायम गर्न,डिजिटल रुपान्तरण र वित्तीय समावेशीकरण कायम गर्दै डिजिटल बैंकिड. र साइबर सुरक्षा तथा तथ्यांक सुरक्षणमा विशेष ध्यान दिन पनि निर्देशन दिनु गर्नुभयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी,साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा आबद्ध गर्न थप पहल गर्न समेत निर्देशन दिनुभयो ।

नेपाल बैंक लिमिटेडले देशभर २ सय ३० वटा शाखा २ सय ५० वटा एटीएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरमार्फत अन्तर्राष्ट्रिय स्तरको बैंकिड. प्रविधि तथा उत्पादनहरुद्धारा २९ लाख भन्दाबढी ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।
आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत सेवासुविधा प्रदान गर्न अग्रसर यस बैंकका करिब १६ लाख ग्राहकहरु डिजिटल सेवासुविधाबाट लाभ लिइराखेका छन् । बैंकले छिटोछरितो गुणस्तरीय तथा गुनासोरहित ग्राहकसेवामा जोड दिई युवा तथा दक्ष जनशक्तिमार्फत आफ्ना ग्राहकहरुलाई समयानुकल  बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

 

बैंकको बार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा ३ तथा २० बर्ष अटुट सेवा गर्ने १० जना कर्मचारीलाई दीर्धसेवा कदर स्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखाहरुलाई समेत पुरस्कृत गरिएको थियो।

त्यसैगरी प्राकृतिक विपत्तिको प्रतिकूल समयमा पनि बैंकिड. सेवा सुचारु गरेका त्रिशूली र धुन्चे शाखालाई बार्षिकोत्सव कार्यक्रममा सम्मानित गरिएको थियो । साथै स्याप्रुबेशी एक्सटेन्सन काउन्टर(धुञ्चेशाखा)मा विषम परिस्थितिमा पनि बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्नुहुने कर्मचारी तथा सुरक्षकलाई कदरपत्र प्रदान गरिएको थियो।

बार्षिकोत्सव कार्यक्रममा बैंक अध्यक्ष खनालले बैंकका समस्त कर्मचारीलाई आगामी दिनमा अझ बढी जिम्मेवारी र इमान्दारीका साथ कार्यक्षेत्रमा लाग्न हौसला प्रदान गर्नुभएको थियो ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सम्बोधन गर्दै उपस्थित सबै अतिथि र सहभागी कर्मचारीहरुलाई स्वागत गर्नुभएको थियो।

Share Now