काठमाडौं,९ साउन । नेपालका उद्योगी र व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको पूर्व निर्धारित साधारण सभा पदाधिकारीको बैठकबाट स्थगित गरिएकोमा वरिष्ठ उपाध्यक्ष पदका घोषित उम्मेद्वार चन्द्रप्रसाद ढकालले आपत्ति जनाउनुभएको छ ।
ढकाललाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने समूहले शुक्रबार उहाँहरुको सम्पर्क कार्यालय परेली पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी निर्वाचन सार्ने निर्णय गलत भएको दावी गरेको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले भन्नुभयो,’ निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत छ । ‘
उहाँले साधरणसभा आगामी चैतमा गरे पनि आफूलाई खासै फरक नपर्ने बताउदै सबै काम विधानअनुसार गर्नुपर्न उल्लेख गर्नुभयो ।
‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारी बैठकले गरेको छ, यो ठीक भएन’, उहाँले भन्नुभयो, ‘मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’

उहाँले निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको तर त्यसको जवाफ नआउँदै हतारिएर पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गर्नु गलत भएको बताउनुभयो ।
‘सरकारले छुट दिन्थ्यो होला वा रोक लगाउथ्यो होला, तर चिठीको जवाफ आउनुभन्दा पहिले नै हतार हतार निर्णय गरियो’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले भन्नुभयो ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको दुःखेसो पनि ढकालले पोख्नुभयो ।
निर्वाचनको रथ हाँकेर आफ्नो अनुकूल चुनावी माहौल सिर्जना गरिसक्नुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको गम्भीर आरोप पनि लगाउनुभएको छ । उहाँले यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको टिप्पणी पनि गर्नुभएको छ ।
साउन २६ र २७ गतेका लागि तोकिएको महासंघको साधारण सभा कोरोना महामारीको जोखिमको कारण देखाउँदै बिहीबार बसेको पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको थियो ।
ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि सहभागी हुनुहुन्थ्यो ।

पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्डीराज ढकालले गलत नियतले हतारहतार चुनाव स्थगित गरिएको टिप्पणी गर्नुभयो । कतिपय पदाधिकारी काठमाडौं उपत्यका बाहिर रहेको बेला यो निर्णय गरिएको भन्दै उहाँले कार्यसमितिले गर्नुपर्ने निर्णय केही पदाधिकारीले गरेर गलत परम्परा बसाएको आरोप पनि उहाँले लगाउनुभयो ।
कार्यक्रममा पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले तत्काल चुनाव गर्न नसक्ने हुँदा दुई पक्षका उम्मेदवारहरु समेत राखेर छलफलका आधारमा निर्णय गरिएको भए राम्रो हुने बताउदै अहिलेको नेतृत्वले गरेको निर्णयका कारण महासंघ दुर्घटनामा फस्छ कि भन्ने चिन्ता लागेको बताउनुभएको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव सार्ने निर्णय गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
सरकारले लकडाउन खुलेको घोषणा गरेपनि केही क्षेत्रमा बन्देज कायमै राखेको छ । २५ जनाभन्दा बढी भेला हुन लगाइएको बन्देज फुकुवा भएको छैन । महासंघले निर्वाचन गर्ने अनुमति दिनको लागि सरकारसँग माग गरेको थियो । गत सोमबारको मन्त्रिपरिषदको बैठकले लकडाउन हटाउने निर्णय गरेपनि महासंघको निर्वाचन अनुमति दिने विषयमा केहीपनि निर्णय गरेको थिएन ।
महासंघ अध्यक्ष भवानी राणाले निर्वाचनको बारेमा निर्णय लिनका बिहिबार पूर्वअध्यक्षसहित पदाधिकारीको बैठक बोलाउनुभएको थियो जसमा सरकारले लकडाउन पूर्णरुपमा खुलाएको १५ दिनभित्र निर्वाचन गर्ने सहमति भएको थियो ।
https://www.facebook.com/clickmandu/videos/2731570013732370/
निर्वाचन स्थगित गर्ने बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।
केन्द्रीय समितिको बैठकबाट निर्वाचन स्थगित गर्ने प्रस्ताव आएको भए पनि बाढी पहिरोले सडक मार्ग अवरुद्ध भएको र नियमित हवाई उडान चालु नभएकोले केन्द्रीय समितिको बैठक तत्काल बस्न संभव नभएको भन्दै बहुमतले पेलेर निर्वाचन स्थगित गर्ने निर्णय भएको थियो ।
सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर २५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस, क्लब, सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।
महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितिमा महासंघको निर्वाचन हुन सकेको छैन ।
महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष चुनिनुहुनेछ । बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गरिसक्नुभएको छ ।


















