काठमाडौं,९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताले पार्टीमाथि हैकम चलाउन खोजेको गम्भीर आरोप प्रधानमन्त्री के.पी. शर्मा ओलीमाथि लगाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पार्टीलाई एकजुट बनाउन र पार्टीलाई गति दिने विषयमा छलफल गर्दा आफूहरुलाई विभिन्न कोणबाट प्रहार भएको उल्लेख गर्दैै उहाँले भन्नुभयो ,’अहिले देशभरि जुलुस भएको छ । मूर्दावाद र जिन्दावादका नारा लगाइएको छ । देशभरिबाट नेता तथा कार्यकर्ताले के गर्ने भनेर सोध्दा मैले धैर्य लिन भनेको छु र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको छु ।’
पार्टी सामान्य स्थितिमा नभई निकै संकटका सामुबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका लागि केही आधारहरु बनाइएको थियो । त्यसमध्ये वैचारिक राजनैतिक आधार थियो । वैचारिक राजनैतिक आधारमा हामीले मार्क्सवाद– लेनिनवादलाई पार्टीको निर्देशक सिद्धान्तका रुपमा सर्वसम्मतले मानेका छौं । हामीले राजनीतिक कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीमा जनवाद र माओवाद सम्बन्धित मान्यतालाई अबको चरणमा विकसित र परिमार्जित गर्नुपर्छ भनेर समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको कार्यदिशा भन्यौं तर तपाई हामीले अहिले हेर्यौं भने अहिले हामीहरु पछाडि फर्केन खोजेको संकेतहरु देखिन थालेका छन् ।”
उहाँले पार्टी सञ्चालमा प्रधानमन्त्री के.पी. ओलीबाट सहयोग र समन्वय नभएको पनि गुनासो गर्दै भन्नुभयो,“हामीले सामूहिक जिम्मेवारी लियौं कि लिएनौं भन्ने कुरा हेर्दा २ वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौं ।” समस्या आउँदा सामूहिक छलफल गर्ने र त्यसबाट आउने निचोडलाई कार्यान्वयन गर्ने पद्धति खल्बलिएको बताउदै भन्नुभयो, ” बैठक नै नबसेपछि सामूहिक निर्णय भन्ने कुरै भएन ।”
उहाँले पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने मान्यता सार्दै भन्नुभयो, “सत्ताले पार्टीमाथि हैकम चलाउने काम गर्यो भने त्यो गैरवैज्ञानिक हो । दुई वर्ष हेर्यौं भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।”
उहाँले पार्टीभित्र हाल देखिएको विवाद पद र सत्ताको निमित्त नभएको तर्क दिंदै भन्नुभयो, “समाजवादी अर्थतन्त्र र समाजवादी राजनीति कस्तो हुने भन्ने स्थायी समितिमा चलेको थियो । तर त्यसलाई गलत ढंगले ब्याख्या गरियो ।”

उहाँले कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिने बताउदै पार्टीलाई एकतावद्ध राखिने प्रतिवद्धता प्रकट गर्नुभयो ।
“पार्टी सङ्कटमा छ किनकि हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ, त्यसकारण यसले सङ्कटलाई व्यक्त गरेकै छ। त्यो तपाईँहरूले देखिराख्नुभएको छ, सबैले देखेकै कुरा हो “, कार्यक्रममा प्रचण्डले भन्नुभयो ।
उहाँले पार्टीमा विचार र विधि स्पष्ट हुनुपर्ने र कम्युनिष्ट पार्टीको सञ्चालन दुवैको संयोजनबाट हुने बताउदै स्थायी समितिको बैठकबाट विचार पनि स्पष्ट भएर आउने र विधि पनि स्पष्ट रुपमा परिभाषित भएर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,”यो बहसबाट अझ खारिएको र एकतावद्ध पार्टीको विकास हुनेछ । हामी सबैले लिनुपर्ने संकल्प यही हो । एकताका निम्ति सही र सचेत ढंगले अघि बढ्न म सबैलाई अपिल गर्छु ।”
प्रचण्डको शुक्रबारको अभिव्यक्तिले उहाँले आजसम्म आफ्नो अडान नछोड्नु भएको तर पार्टी विभाजन गरिदिने र अन्य विभिन्न ढंगको कारबाहीको धम्की दिएर उहाँलाई बहुदलीय जनवादको टांगमुनिबाट प्रधानमन्त्री ओलीको चरण स्पर्स गराउदै दाह्रा र नंग्रा निकालिएको बुढो सिंहको रुपमा पार्टीको कुनामा थन्क्याउन हदैसम्मको षडयन्त्र भएको र त्यसका लागि राष्ट्रप्रमुख समेतको मान,मर्यादा,गरिमा र राजकीय शक्तिको दुरुपयोग गरिएको निष्कर्ष निकाल्न सकिन्छ ।
आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस्: नेता नेपाल
कार्यक्रमलाई संबोधन गर्दै पार्टीका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ‘म नै राज्य हो, म बिना संसार चल्दैन भन्ने भ्रममा नपरौं र आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस्।’ भनेर प्रधानमन्त्री ओलीलाई चेतावनी नै दिनुभएको थियो ।
शीर्ष नेता नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गर्दै भन्नुभयो, ‘नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’
उहाँले पार्टीलाई नयाँ ढगले अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउदै भन्नुभयो, ‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब ढिला हुन लागिसकेको छ।’
पार्टीमा व्यक्ति भन्दा नीति र विचारको महत्व ठूलो रहेको भन्दै पार्टी विधि र पद्धति अनुसार चलाउन आग्रह गर्दै भन्नुभयो,‘बहुमतको निर्णय पार्टीको निर्णय हो। यसलाई सबैले मानौं।त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन। सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ।’


















