Prakash Adhikari October 6, 2020

 

कात्तिके देउराली(काभ्रेपलाञ्चोक), २० असोज । नेपाल पर्वतारोहण संघको आयोजनामा प्रभा माध्यमिक विद्यालय तथा प्रभा बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा र चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले शनिवार संयुक्त रुपमा वृक्षारोपण र जल सिञ्चन गरी शुभारम्भ गर्नुभएको सो कार्यक्रमा गाँउपालिकाका उपाध्यक्ष ताराकुमारी चौलागाई, नेपाल पर्वतारोहण संघका केन्द्रीय सदस्य तथा वातावरण संरक्षण समितिका संयोजक सार्की तामाड., सदस्य प्रकाश अधिकारी, वडा नं ६ का वडा अध्यक्ष रेशमप्रसाद चौलागाई, क्याम्पसका प्राचार्य क्षितिज राई र क्याम्पस तथा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले प्रभा माध्यमिक विद्यालय र क्याम्पस परिसरमा वृक्षारोपण गर्नका लागि व्यवस्थापन समिति र शिक्षकहरुबाट माग भएको बताउदै भन्नुभयो, ‘नेपाल पर्वतारोहण संघले यस बर्षको विश्व वातावरण दिवसको उपलक्ष्यमा गरिने वृक्षारोपण कार्यक्रम यस क्याम्पस र विद्यालय परिसरमा गर्ने निर्णय गरेको थियो तर वातावरण दिवसको समयमा नेपालमा पूर्ण लकडाउन रहेकोले सो कार्यक्रम संभव नभएकोले साइत जुर्न समय लाग्यो ।’

प्रभा बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष रहनुभएका लामाले पानीको मूल संरक्षण, बाढी पहिरो रोकथाम, हरियाली अभिबृद्धि सौन्दर्यीकरण र स्वच्छ वातावरणकोलागि निजी जमिनमा वृक्षारोपण गर्न खोज्दा सर्वोच्चमा समेत मुद्दा खेप्न परेको अनुभव सुनाउदै अहिले वातावरण संरक्षण र वृक्षारोपणको महत्व सबैले बुझेको बताउनु भयो ।

सहभागीहरुलाई गाँउ पालिकाका अध्यक्ष गौतमले नेपाल पर्वतारोहण संघले चौरी देउराली गाउँपालिकालाई माया गरेर प्रभा माध्यमिक विद्यालय र क्याम्पसको सौन्दर्य बढाउन, यस क्षेत्रलाई भूक्षयबाट जोगाउन र विद्यालयलाई आयआर्जन पनि हुने गरी फलफूलका विरुवाहरुसमेत ल्याएर रोपण गरेकोले यसको संरक्षण गरी यसबाट लाभ लिन विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिका संयोजक सार्की तामाड.ले केही समय पहिले वृक्षारोपण स्थलको अवलोकन भ्रमणमा आउदा विद्यालयका शिक्षकहरुबाट माग भएअनुसारका उच्च मूल्यका उपयोगी फलफूल, फूल, आयमूलक विरुवाहरु राजधानीका विभिन्न नर्सरीहरुबाट जुटाएर ल्याइएकोले सबै विरुवाहरु हुर्काएर यसको लाभ लिन आग्रह गर्नुभएको थियो ।

वृक्षारोपण कार्यमा सहभागी हुनुभएका शिक्षक,विद्यार्थी र अभिभावकहरुलाई रोपिएका सबै विरुवाको संरक्षण, गोडमेल गरी हुर्काउने दायित्व विद्यालय परिवारको भएको बताउदै चौरी देउराली गाउँपालिका वडा नं ६ कात्तिके देउरालीका अध्यक्ष रेमशप्रसाद चौलागाइले एउटा पनि विरुवा मर्न नदिन विद्यालय परिवारलाई आग्रह गर्नुभएको थियो ।

नेपाल पर्वतारोहण संघले राजधानीका नर्सरीबाट लगेका समी,कपूर,जकाराण्डा राजवृक्ष, रुद्राक्ष, चाँप, एभोकार्डो, सुन्तला, कागती, लप्सी, टिमुर, रक्तचन्दन, आरुपल्म, निगालो, बुद्धचित्त, धूपी, अमला, तेजपत्ता, रातकी रानी, इन्द्रकमल, पारिजात र एरोकारिया जातका करिब २ सय विरुवाहरु प्रभा माध्यमिक विद्यालय र प्रभा बहुमुखी क्याम्पसको परिसरमा रोपिएका थिए ।

केही विरुवाहरु अर्कोदिन विद्यार्थीहरुको सहभागितामा रोपण गरिएको थियो ।

No description available.

 

Share Now

Leave a comment.