काठमाडौं, २५ असोज । नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाहरूले आफ्नो सवालमा आफैंले बहस गरेका छन् ।
पाँच जिल्लाका ५५ किशोरीहरुले स्थानीय सरकारलाई रेडियो बहस मार्फत कोभिड १९ पछि शिक्षामा परेको प्रभावका विषयमा ध्यानाकर्षण गराएका छन् । आइतबार किशोरीहरूले रेडियो माइक्रोफोन हातमा लिएर आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गरेका हुन् ।
यस बर्षको अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ लाई बढुवा दिदै किशोरीहरूले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा छलफल र बहस गरेका थिए ।
कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन उपयुक्त वातावरण र माहोल बनाउन के गर्न सकिन्छ, जस्ता विषय र प्रश्नमास्थानीय सरकारका प्रमुख, उपप्रमुख र सरोकारवालाहरुसँग किशोरीहरुले छलफल गरे । किशोरीहरुले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराए ।
किशोरीहरुले सुदूरपश्चिम जिल्लाको अछाम बाजुरा, प्रदेश नम्बर दुईको रौतहट, सर्लाही र प्रदेश १ को सुनसरीमा रहेका २६ रेडियोबाट रेडियो बहस गरेका थिए ।
बहसमा किशोरीहरुलाई नियमित संलग्नताभन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानीय सरकारसँग छलफल गरिएको थियो ।
आजको बहसपछि स्थानीय सरकारका प्रतिनिधिहरुले शिक्षामा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन अबलम्बन गर्नुपर्ने सबै कार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
रेडियो बहसमा किशोरीहरुलेस्थानीय तहका प्रतिनिधिहरूलाई समेत बालिकाको निरन्तर सिकाईमा काम गर्न प्रतिबद्धता जाहेर गर्न लगाएका थिए ।
रेडियोमा किशोरीले निरन्तर सिकाई अभियान अन्र्तगत बिहानदेखि दिउँसोसम्म निरन्तर छलफल चलाएका थिए । छलफल नेपाली, डोटेली, मैथली, बजिकासहितका स्थानीय भाषामा सञ्चालन भएको थियो ।
कार्यक्रममा सम्पूर्ण वर्गका बालिका एवं किशोरीको आवाज समेटियोस् भनेर फरक क्षमता भएका, दलित, सिमान्तकृत, मधेसी, द्वन्द्वपीडित, छाउपडी प्रभावित लगायतलाई समेटिएको थियो । कोभिड–१९ अघिमात्र १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघले आफ्नो विश्वब्यापी अभियान “सिकाइ कहिल्यै रोकिँदैन” अन्र्तगतस्थानीय रेडियोमार्फत वकालत कार्यक्रम पनि घोषणा गरिएको छ ।










