
क्यालिफोर्निया ( संयुक्त राज्य अमेरिका), २२ माघ । दक्षिण क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपालीहरुले निकै लामो प्रयास पछि हिन्दु नेपालीको आस्था र विश्वासको धरोहर आराध्य देव पशुपतिनाथको मन्दिर निर्माण सम्पन्न गरेका छन्।
करिब १५ करोड नेपाली रुपैयाँ अर्थात १५ लाख अमेरिकी डलरमा निर्माण कार्य सम्पन्न भएको मन्दिरले बुद्धको जन्मभूमि र पशुपतिनाथको देश नेपालबाट आएका नेपालीहरुलाई गर्वको अनुभूति दिलाएको छ ।
आफ्नो पहिचान र विश्वासको धरोहर सिर्जना गर्ने प्रयासमा रहेका नेपालीहरुले पशुपतिनाथ र बुद्धको मन्दिर संगै बनाएका छन् । मन्दिर निर्माणमा एक पेनी देखि एक लाख डलरभन्दा बढी सहयोग गर्ने उदार दाताहरू भेटिएका थिए ।
मन्दिर निर्माणमा एक लाख भन्दा बढी सहयोग गर्ने २ जना ५० हजार डलर माथि सहयोग गर्ने ५ जना ३० हजार डलर माथिको सहयोग गर्ने १ जना २० हजार भन्दा बढी सहयोग गर्ने ७ जना १० हजार माथि सहयोग गर्ने ११ जना रहेका छन् ।
अरू मनकारी सहयोगीहरूको संख्या ७ सय ३० रहेको छ ।
यही फेब्रुबरी ११ देखि १३ तारिखसम्म गर्न लागिएको प्राण प्रतिष्ठा पूजामा यजमान बसी पूजा गर्न इच्छुक सबै नेपालीलाई खुला आह्वान गरिएको छ ।